
हुलाकी न्यूज, काठमाडौं ३ भदौ । मधेश आन्दोलनमा मारिएका ५२ जनालाई विहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणा गरे पनि चार जनालाई लिष्टबाट हटाइएको छ । ११ जना प्रहरी र सुर्खेत आन्दोलनसहितका गरी ४१ जना आन्दोलनकारी सहिद घोषित भएका छन् ।
प्रहरीद्वारा नै हत्या गरिएका प्रहरी सहिद घोषणा भएपनि आन्दोलनका क्रममा मारिएका चार जनालाई सहिदको लिष्टबाट हटाइएकोमा मधेशी अगुवाहरुले विरोध जनाएका छन् ।
सर्लाहीको नवलपुरमा आयोजित मधेशी मोर्चाको कार्यक्रममा एमाले कार्यकर्ता–चुरेभावर र प्रहरीले हस्तक्षेप गर्दा राधिका देवी साहको मृत्यु भएको थियो ।
साहको लास उठाउनुभन्दा पहिले सर्लाहीको सीडीयोसँग सहिद घोषणा गर्ने सहमति भएको थियो । तर भदौ दुई गते सार्वजनिक गरिएको सहिद लिष्टबाट साहको नाम हटाइएको छ ।
स्व.राधिका देवी र उनकी छोरी ।
त्यस्तै, रुपन्देहीको डण्डी पुलमा गैरमधेशी समुदाय, प्रहरीले आन्दोलनकारीमाथि आक्रमण गर्दा मृत्यु भएका रामेश्वर पासीलाई पनि सहिदको लिष्टबाट हटाइएको छ ।
पासीको हत्या गरि नदीमा फालिएको केही दिन पछि लास भेटिएको थियो । प्रहरीले उनको पोष्ट मार्टम रिपोर्ट बनाउन नदिएको परिवारजनले हुलाकी न्यूजलाई बताएका थिए ।
त्यस्तै, आन्दोलनको क्रममा लुम्बिनी क्षेत्रमा आन्दोलनकारीलाई प्रहरीले कुट्दा बचाउन गएका सदभावना पार्टीका युवा नेता शैलेन्द्र श्रीवास्तवको प्रहरी कुटाईबाट मृत्यु भएको थियो ।
तर श्रीवास्तवलाई पनि सहिद सुचीबाट हटाइएको छ ।
स्व.शैलेन्द्र श्रीवास्तव की श्रीमति ।
त्यस्तै, कैलाली टिकापुर घटना पछि आन्दोलनकारीलाई खोज्दै डिडेका नेपाली सेना–सशस्त्र प्रहरीको टोलीले मुक्त कमैया बस्तीमा प्रवेश गरी थारुहरुलाई कुटपिट गरेका थिए ।
सोही क्रममा मुक्त कमैया बस्तीका ड्राईभर भनिने साकिराम चौधरीलाई कुट्दै घिर्सादै नदीको नजिक लगि फालिएको थियो । भोलि विहान उनी मृत अवस्थामा भेटिएका थिए । त्यस क्षेत्रको अवस्था नाजुक भएकोले स्थानीयहरुले चौधरीको गुपचुप दाहासंस्कार गरेका थिए ।
टिकापुर घटना पछि सुरक्षाकर्मीद्वारा मारिएका चौधरीलाई सहिदको सुचीमा राखिएको छैन ।
सम्बन्धीत समाचार



