
हुलाकी न्यूज, जनकपुरधामः विद्यार्थीहरुको ज्यान जोखिममा पार्ने गरी विद्यालयको भवन निर्माण भइरहेको भन्दै विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति र नगरपालिकाका इन्जिनियर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।
अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत प्रदेश नम्बर २ सरकारबाट स्थानीय तहमा हस्तान्तरण भएको सशर्त अनुदानमा धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरस्थित श्री द्धारिका आधारभूत विद्यालयमा गुणस्तरहिन भवन निर्माण भइरहेको छ। गुणस्तरहिन भवन बनाउने विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति र सबैला नगरपालिकाका इन्जिनियर रंजित यादव विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासमा उजुरी दर्ता भएको हो।
नगरपालिकाका इन्जिनियर र उपभोक्ता समितिको मिलिमतोमा गुणस्तरहिन भवन निर्माण भइरहेको स्थानीयवासीहरुले प्रमाण दिएका थिए।
विद्यालय भवनको पिलर गुणस्तरहिन भएको र पिलर आफै ढल्ने अवस्थामा रहेको देखिएको छ। पिलरबाट बालुवा र सिमेन्टहरु आफै उप्किन थालेपछि पिलरलाई बाहिरबाट सिमेन्टले टालटुल गरिएको छ।
यसैगरी उक्त भवनमा २ नम्बरको इटा प्रयोग गरिएको विद्यालय व्यवस्थापन समितिकै एक जना सदस्यले जानकारी दिएका छन्। केही पुराना इटाहरु र दुई नम्बरको इटा प्रयोग भएको तस्बीर पनि उनले उपलब्ध गराएका हुन्।
विद्यालय व्यवस्थापन समितिका सदस्यका अनुसार पिलर र छतमा पनि आवश्यकता बमोजिमको रड प्रयोग गरिएको छैन। दुई तल्ले भवनको लागि आवश्यक पर्ने रडको मात्रा अपुग रहेको उनले बताए ।
गत मंगलबार विद्यालय भवनको छत ढलान गरिएको थियो। जसमा सिमेन्ट पनि आवश्यक मात्रामा नहालिएको र छतमा ठुल्ठुला ढुँगा प्रयोग भएको देखिएको छ। जसले उक्त भवनको छत कुनै बेला पनि झर्न सक्ने र विद्यार्थीहरुको ज्यान जोखिममा पर्ने भन्दै स्थानीयबासीहरुले चिन्ता व्यक्त गरेका छन्।
सबैला नगरपालिकाका इन्जिनियर रंजित यादव र उपभोक्ता समितिको मिलिमतोमा विद्यार्थीहरुको ज्यान जोखिममा पार्ने गरी निर्माण भइरहेको भवनको कार्य तत्काल रोक्न रघुनाथपुरका स्थानीयवासीहरुले माग गरेका थिए।
स्थानीयवासीका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वयम्ले उपभोक्ता समिति गठन गरी आफैले भवन निर्माणको ठेक्का लिएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासमा उजुरी परेपछि प्रक्रिया अगाडि बढेको आयोगले जनाएको छ।
उक्त उजुरी रघुनाथपुरवासीहरुले सामूहिक रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौंमा पनि दर्ता गराउने तयारी गरेका छन्।



