हुलाकी न्यूज, जनकपुरधामः कलिला विद्यार्थीहरुको ज्यान जोखिममा पार्ने गरी धनुषामा एक विद्यालयको भवन निर्माण भइरहेको छ।
अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत प्रदेश नम्बर २ सरकारबाट स्थानीय तहमा हस्तान्तरण भएको सशर्त अनुदानमा धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरस्थित श्री द्धारिका आधारभूत विद्यालयमा गुणस्तरहिन भवन निर्माण भइरहेको छ।
नगरपालिकाका इन्जिनियर र उपभोक्ता समितिको मिलिमतोमा गुणस्तरहिन भवन निर्माण भइरहेको स्थानीयवासीहरुले प्रमाण दिएका छन्।
विद्यालयको भवनमा १४/१४ को पिलर राख्नु पर्ने नियम भएपनि निर्माण भइरहेको भवनमा १२/१२ को पिलर राखिएको स्थानीयवासीहरुले बताएका छन्।
उक्त पिलर पनि गुणस्तरहिन भएको र पिलर आफै ढल्ने अवस्थामा रहेको देखिएको छ। पिलरबाट बालुवा र सिमेन्टहरु आफै उप्किन थालेपछि पिलरलाई बाहिरबाट सिमेन्टले टालटुल गरिएको छ। (हेर्नुस् तस्बीर)
यसैगरी उक्त भवनमा २ नम्बरको इटा प्रयोग गरिएको विद्यालय व्यवस्थापन समितिकै एक जना सदस्यले जानकारी दिएका छन्। केही पुराना इटाहरु र दुई नम्बरको इटा प्रयोग भएको तस्बीर पनि उनले उपलब्ध गराएका हुन्। (हेर्नुस् तस्बीर)
विद्यालय व्यवस्थापन समितिका सदस्यका अनुसार पिलर र छतमा पनि आवश्यकता बमोजिमको रड प्रयोग गरिएको छैन। दुई तल्ले भवनको लागि आवश्यक पर्ने रडको मात्रा अपुग रहेको उनले बताए । (हेर्नुस् तस्बीर)
यता मंगलबार विद्यालय भवनको छत ढलान गरिएको छ। जसमा सिमेन्ट पनि आवश्यक मात्रामा नहालिएको र छतमा ठुल्ठुला ढुँगा प्रयोग भएको देखिएको छ। जसले उक्त भवनको छत कुनै बेला पनि झर्न सक्ने र विद्यार्थीहरुको ज्यान जोखिममा पर्ने भन्दै स्थानीयबासीहरुले चिन्ता व्यक्त गरेको छन्। (हेर्नुस् तस्बीर)
सबैला नगरपालिकाका इन्जिनियर रंजित यादव र उपभोक्ता समितिको मिलिमतोमा विद्यार्थीहरुको ज्यान जोखिममा पार्ने गरी निर्माण भइरहेको भवनको कार्य तत्काल रोक्न रघुनाथपुरका स्थानीयवासीहरुले माग गरेका छन्।
स्थानीयवासीका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वयम्ले उपभोक्ता समिति गठन गरी आफैले भवन निर्माणको ठेक्का लिएका छन्।
निर्माण भइरहेको भवनको छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रदेश सरकारमा निवेदन दिने तयारी स्थानीयवासीहरुले गरेको हुलाकी न्यूजलाई जानकारी दिएका छन्।
[…] प्रदेश सरकारको अनुदानः विद्यालयमा गु… […]