
हुलाकी न्यूज, काठमाडौं । साझा विवेकशील पार्टीले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकले नागरिकता प्राप्त गरेको मितिपछि पाएको सन्तानलाई वंशजको नागरिकता प्रदान गर्नु न्यायसंगत हुने बताएको छ ।
साझाले मंगलबार एक विज्ञप्ति जारी गरी जन्मका आधारमा नागरिकता प्राप्त गर्नु पहिले जन्मिएका सन्तानका हकमा यो व्यवस्था अनुचित हुने उल्लेख गरेको छ ।
त्यस्ता सन्तान नेपालको संविधान अन्तर्गत अंगिकृत हुन योग्य रहेछन् भने सो बमोजिम, रहेन छन् भने आफ्नो बुवाआमाको पुरानो मुलुककै नागरिक रहिरहने साझाको धारणा छ ।
‘विगतमा भएका गल्तीलाई सच्याउन अन्य बाटो अपनाउन सकिन्छ तर विगतमा भएका गल्तीलाई शन्तुलनमा राख्न नयाँ गल्ती गर्न सकिँदैन ।’ विज्ञप्तिमा उल्लेख छ ।
नागरिकताको विषयलाई व्यक्तिभन्दा माथि राखेर देशको बृहत्तर हितको परिप्रेक्ष्यमा हेरिनु पर्छ। नेपाली नागरिकता पाउन योग्य कुनै पनि नागरिकलाई नागरिकताबाट बञ्चित गरिनु हुँदैन । पुरूष र महिलाका बीच नागरिकताको विषयलाई विभेदकारी बनाउन मिल्दैन। पुरूष र महिला दुबै समान अधिकारको हकदार छन् ।



