
हुलाकी न्यूज काठमाडौं : सोमबार विश्वभरी अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइरहँदा बाँकेका राम मनोहर यादवको लाश अलपत्र परेको १०१ दिन पुगेको छ।
यस वर्ष मधेशमा मानव अधिकार विरुद्धका कयौं घटना भएका छन्। जसमध्ये बाँकेका राम मनोहर यादवको घटना सर्वाधिक चर्चित बनेको छ।
प्रहरी हिरासतमा मृत्यु भएका राम मनोहरको लाश काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ। तर नेपाल सरकारले घटनाको छानविन अथवा परिवारलाई क्षतिपुर्ति दिन अस्वीकार गर्दै आएको छ।
संघीय संसदमा नेपाली कांग्रेस र राजपा तथा फोरमका सांसदहरुले राम मनोहरको प्रहरीको कुटाईबाट मृत्यु भएको भन्दै छानविनको माग गर्दै आएका छन्। उच्चस्तरीय न्यायिक छानविन आयोग गठनको पनि माग गरिएको छ। तर सरकारले सांसदहरुको मागलाई पनि अस्वीकार गर्दै आएको छ।
‘यो मानव अधिकार के हो मलाई थाहा छैन। मलाई यती मात्र थाहा छ मेरो श्रीमान्को हत्या भयो। दोषीलाई कारवाही हुनु पर्छ। हामीलाई क्षतिपुर्ति दिइनु पर्छ।’ मानव अधिकार दिवसको अवसरमा मृतक राम मनोहर यादवकी पत्नी सुनिता यादवले हुलाकी न्यूजलाई भनिन्,‘मेरो श्रीमानको लाश अस्पतालमा कुहिँदैछ। कुनै मानव अधिकारवादी अथवा समाजले हेरेको छैन।’
आफ्नो बच्चाहरुको भविष्यप्रति चिन्ता व्यक्त गर्दै उनले भनिन्,‘मेरो बच्चाहरुको भविष्य खराब हुँदैछ। मेरो परिवारलाई हेर्ने कोही भएन।’
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा भाद्रा ७ गते बर्दियाबाट पक्राउ परेका राम मनोहर यादवको १४ गते राती प्रहरी हिरासत मै मृत्यु भएको थियो।




[…] […]