
हुलाकी न्यूज, काठमाडौं : नेपाल प्रहरीको हिरासतमा मृत्यु भएका राम मनोहर यादवको मुद्दा संयुक्त राष्ट्रसंघ (यूएन) को एक अदालतमा अगाडि बढाइदैछ।
संयुक्त राष्ट्रसंघ अन्तरगतको ‘इन्टरनेशनल कोर्ट अफ जस्टिस’मा मुद्दा दर्ताको प्रक्रियाका लागि राम मनोहरको परिवारले वारेससमेत तोकेको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा यादवको करिब चार महिनाअघि मृत्यु भएको थियो। यादवकी आमा धिराजी अहिरले यूएनसहित विभिन्न न्यायिक निकायमा मुद्दा लड्नका लागि अमेरिकामा बस्ने इन्द्रजीत यादवलाई वारेस तोकेकी छिन्।
नेपाल सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई बर्दियाको गुलरियामा कालो झण्डा देखाएको भन्दै राम मनोहरसहितलाई पक्राउ गरिएको थियो।
संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका उपेन्द्र यादवको कार्यक्रमबाट राम मनोहरलाई प्रहरीले नियन्त्रणमा लिइ हिरासतमा राखेको थियो। सोही क्रममा उनको मृत्यु भएको थियो।
राम मनोहरको मृत्यु बारेको उजुरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको थियो।
नेपाल सरकारको दबावमा राम मनोहरको परिवारले न्याय पाउन नसक्ने भन्दै अन्तर्राष्ट्रिय अदालतमा प्रक्रिया अगाडि बढाइएको स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानले जानकारी दिएका छन्। उनका अनुसार मुद्दा दर्ताको प्रक्रिया अगाडि बढेको छ भने अन्य कामहरु द्रुत गतीमा भइरहेको छ।
मृतक राम मनोहरको लास चार महिनाभन्दा बढी समयदेखि टिचिङ्ग अस्पताल काठमाडौंमा राखिएको छ।
सम्बन्धित समाचार




Vileses karmahi 8 dhanusha madhesh.