
जगत बराम, अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ
सरकारले संविधान दिवसको अवसरमा दीपावलीसहितको विभिन्न कार्यक्रम गर्न निर्देशन दिए पनि आदिवासी जनजाति महासंघ भने संविधान दिवसको विरोधमा विभिन्न कार्यक्रम गर्दैछ। आफू मातहतको जिल्ला कमिटी र विभिन्न देशमा रहेका समितिहरूलाई संविधान दिवसको विरोधमा कार्यक्रम गर्न निर्देशन दिइएको छ।
विभिन्न जिल्ला र प्रदेश समितिहरूमा प्रशिक्षण कार्यक्रम भइरहेको र अब केही दिनमा संविधानको विरोधमा देशैभरी आन्दोलन घोषणा गर्ने तयारी गरेको छ। यिनै विषयहरूमा आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामसँग हुलाकी न्यूजले गरेको कुराकानीको सम्पादित अंश:
० आदिवासी जनजातिहरूले संविधान दिवसको विरोध किन गर्ने?
लामो समयदेखि आदिवासी जनजाति उत्पीडनमा परेको सर्वविदितै छ। राज्यबाट विभिन्न आदिवासी जनजातिहरूलाई दबाउँदै आइएको छ। आदिवासी जनजातिको विरोधका बाबजुद पनि संविधान जारी भयो।
यो संविधानले समानुपातिक समावेशीलाई पूर्ण कार्यन्वयन गराउनु पर्ने थियो तर त्यो भएन। पहिचानको आधारमा प्रदेशको नाम र संख्याको निर्धारण हुन सकेन। आदिवासी जनजातिको माग बमोजिम संघीय संरचनाको यो संविधानले दिन सकेन। स्वायत्त र संरक्षित क्षेत्र पनि निर्धारण गरिएन।
यो संविधानले आदिवासी जनजातिलाई चाहिने केही दिन सकेन। झन् आदिवासी जनजातिलाई कमजोर पार्ने षड्यन्त्र भएको छ। जबसम्म त्यो षड्यन्त्रहरू समाप्त हुँदैन तबसम्म आदिवासी जनजातिले संविधानको विरोध गरिरहनेछ।
० सरकारले संविधान संशोधन गर्छु भन्दै आएको छ नि?
संधिवान संशोधनको एजेन्डा लिएर फोरम सरकारमा गएको छ तर अहिलेसम्म कुनै विषय अगाडि बढेको छैन। पहाडका एक खालका राजनीति दल र मधेशबाट प्रतिनिधित्व गर्ने संघीय समाजवादी फोरम नेपाल पनि सामन्ती सोचबाट अगाडि बढेको देखिन्छ। उनीहरुले पनि संविधान संशोधन होस्, आदिवासी जनजाति र मधेशीहरुले अधिकार पाओस् भनेर चाहेका छैनन्।
यस्तो अवस्थामा संविधान संशोधन हुन्छ भनेर मलाई विश्वास छैन।
० त्यसो भए संविधान दिवसमा के गर्नु हुन्छ?
हामीले आफ्ना मातहतका सम्पूर्ण जिल्ला समिति र विभिन्न देशमा रहेका समितिहरूलाई संविधानका विरोधमा कार्यक्रम गर्न परिपत्र गरेका छौं। सबैले आ–आफ्नो बमोजिम संविधानको विरोधमा कार्यक्रम गर्दैछ।
सरकारले हामीलाई बोलाएको कार्यक्रम बहिष्कार गर्दैछौं। हामी विरोधका कार्यक्रम गर्दैछौं।
० त्यसो भए अब महासंघले कस्तो कार्यक्रम गर्ला?
आदिवासी जनजाति महासंघले अव संविधानको विरुद्धमा देशैभरी विशाल आन्दोलनको आँधिबेहरी ल्याउने छ।
अहिले हामी विभिन्न जिल्ला कमिटीहरूलाई सशक्त बनाउँदैछौं। प्रदेश २ मा प्रशिक्षण सम्पन्न भएको छ। अब अन्य प्रदेशहरूमा पनि प्रशिक्षणको काम अगाडि बढ्दैछ।
सबै जिल्ला र प्रदेशमा प्रशिक्षणको काम सकेपछि हामीले देशव्यापी आन्दोलनको कार्यक्रम घोषणा गर्दैछौं। अहिले हामी तयारीमा छौं।



