हुलाकी न्यूज, काठमाडौं :
प्रहरी हिरासतमा मृत्यु भएका राम मनोहर यादवको सम्मानमा काठमाडौंसहित मधेशका विभिन्न जिल्लामा श्रद्धाञ्जली सभा गरिएको छ।

काठमाडौंको माइतिघर मण्डलामा सयौंको संख्यामा उपस्थित मधेशीहरुले सहिद यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको छानविनको माग गरेका छन्।

विश्लेषक सीके लालले राज्यले मधेशीप्रति फाँसीवादी शैली अपनाउन थालेको बताउँदै सरकारको आलोचना गरेका थिए। सहिद यादव राजनीतिक आस्था बोकेको व्यक्ति भएकोले उनको मृत्युले मधेशलाई ठूलो क्षति भएको र राज्यलाई ठूलो चुनौती भएको लालले बताएका थिए।

कार्यक्रममा अन्य वक्ताहरुले उपप्रधानमन्त्री उपेन्द्र यादवको निर्देशनमा पक्राउ परेको र हिरासत भित्रै यातना दिइएको बताएका थिए। यस घटनाको जिम्मेवारी उपेन्द्र यादवसहितले लिनु पर्ने मधेशी अभियन्ता जसर यादवले बताएका थिए।

श्रद्धाञ्जली सभामा मधेशी अगुवा, समाजसेवी, अधिवक्ताहरु, विभिन्न पेसाकर्मी, सञ्चारकर्मी तथा स्वतन्त्र मधेश गठबन्धनका नेताहरुको सहभागिता रहेको थियो।

यसैगरी शनिबार साँझ नेपालगंजमा श्रद्धाञ्जली सभा गर्ने क्रममा स्वतन्त्र मधेश गठबन्धनका एक कार्यकर्ता पक्राउ परेका छन्। गठबन्धनका प्रवक्ता अब्दुल खानका अनुसार केदारनाथ वर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

यसैगरी विराटनगर, भारदह, सिरहा, राजविराज, जनकपुरलगायतका स्थानमा श्रद्धाञ्जली सभा गरिएको छ।

गएराती काठमाडौं ल्याउने क्रममा मृत्यु भएका यादवको शब महाराजगंजस्थित टिचिङ्ग हस्पिटलमा राखिएको छ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका बाँके जिल्लाका राम मनोहर यादवको प्रहरी हिरासत गएराती मृत्यु भएको थियो।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका यादवलाई भदौ सात गते बर्दियामा स्वतन्त्र मधेश गठबन्धनका राम मनोहर यादवसहितका नेताहरुले कालो झण्डा देखाएका थिए।

सोही दिन पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा राखिएको थियो।

बाँके गनापुर कपासी (जानकी गाउँपालिका ( ६) बस्ने यादवको उपचारको क्रममा काठमाडौं लैजाँदै गर्दा शुक्रबार राती करिब २ बजे बाटोमै मृत्यु भएको हो। बुधबार राती हिरासतमा हाथखुट्टा नचल्ने भए पछि यादवलाई जिल्ला अस्पताल गुलरियामा भर्ना गरे पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि बिहीबार भेरी अञ्चल अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो।

त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपालगंज नर्सिङ्ग होममा लगिएको थियो। डाक्टरहरुले नर्सिङ्ग होममा पनि उपचार सम्भव नभएपछि हेलिकप्टरबाट काठमाडौं तत्कालै पठाउन आग्रह गरेका थिए। तर प्रहरीले ढिला सुस्ती गरी एम्बुलेन्सबाट काठमाडौं ल्याउने क्रममा मृत्यु भएको गठबन्धनका प्रवक्ता अब्दुल खानले हुलाकी न्यूजलाई बताए।

उपेन्द्र यादवलाई कालो झण्डा देखाउनेको प्रहरी हिरासत मै मृत्यु

उपेन्द्र यादवलाई कालो झण्डा देखाउनेको स्वास्थ्य अवस्था गम्भीर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.