
हुलाकी न्यूज, नेपालगंज : उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई बर्दियामा कालो झण्डा देखाउने मध्ये एकको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।
मन्त्री यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका चार जना युवा मध्ये एक जना प्रहरी हिरासतमै अचेत भेटिएका थिए। बर्दियाको गुलरियाबाट भदौ ७ गते पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धनका ४ कार्यकर्तामध्ये राममनोहर यादवको अवस्था गम्भीर रहेको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाको थुनुवा कक्षमा बिहीबार बिहान अचेत भेटिएका यादवलाई बर्दिया प्रहरीले तत्काल उपचारका लागि जिल्ला अस्पताल गुलरियामा भर्ना गराएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्ज पठाएको थियो।
अवस्था निकै नाजुक भएकोले नेपालगंज नर्सिङ्ग होमको आइसीयूमा भर्ना गरिएको छ। स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुलका खानका अनुसार डाक्टरहरुले नर्सिंङ्ग होममा पनि उपचार सम्भव नभएकोले काठमाडौं पठाउन आग्रह गरेको छ। तर प्रहरीले काठमाडौं पठाउन आनाकानी गरेको खानले बताए।
पक्राउ परेका अन्य तीन जना भने जिल्ला प्रहरी कार्यालय गुलरियामा रहेका छन्। उनीहरुको दुई पटक अदालतबाट म्याद थप गरिएको छ। पक्राउ परेको चारै जनामाथि राज्य द्रोहको मुद्दा चलाउने तयारी गरिएको छ।
संघीय समाजवादी फोरम नेपालले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्याक्रममा अध्यक्ष यादवसँग उनीहरुले मधेशी सहिदका विषयमा प्रश्न गरेका थिए। उनीहरुलाई कार्यक्रम स्थलबाट धपाइएपछि उनीहरुले बाहिर उपप्रधानमन्त्रीसमेत रहेका यादवलाई कालो झण्डा देखाएका थिए।




[…] उपेन्द्र यादवलाई कालो झण्डा देखाउनेक… […]
[…] उपेन्द्र यादवलाई कालो झण्डा देखाउनेक… […]