
हुलाकी न्यूज, काठमाडौं : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका बाँके जिल्लाका राम मनोहर यादवको प्रहरी हिरासत मै मृत्यु भएको छ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका यादवलाई भदौ सात गते बर्दियामा स्वतन्त्र मधेश गठबन्धनका राम मनोहर यादवसहितका नेताहरुले कालो झण्डा देखाएका थिए।
सोही दिन पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा राखिएको थियो।
बाँके गनापुर कपासी (जानकी गाउँपालिका ( ६) बस्ने यादवको उपचारको क्रममा काठमाडौं लैजाँदै गर्दा शुक्रबार राती करिब २ बजे बाटोमै मृत्यु भएको हो । बुधबार राती हिरासतमा हाथखुट्टा नचल्ने भए पछि यादवलाई जिल्ला अस्पताल गुलरियामा भर्ना गरे पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि बिहीबार भेरी अञ्चल अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो।
त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपालगंज नर्सिङ्ग होममा लगिएको थियो। डाक्टरहरुले नर्सिङ्ग होममा पनि उपचार सम्भव नभएपछि हेलिकप्टरबाट काठमाडौं तत्कालै पठाउन आग्रह गरेका थिए। तर प्रहरीले ढिला सुस्ती गरी एम्बुलेन्सबाट काठमाडौं ल्याउने क्रममा मृत्यु भएको गठबन्धनका प्रवक्ता अब्दुल खानले हुलाकी न्यूजलाई बताए।
यादवसहित हरपाल सिंह, इरफान शेख र राजितराम वर्मालाई प्रहरीले भाद्र ७ गते बिहीबार जिल्ला समन्वय समिति बर्दियाको सभाकक्षमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा भएको एउटा कार्यक्रमबाट पक्राऊ गरी राज्य विप्लवको मुद्दामा म्याद थप गरिको थियो।
पक्राउ मध्ये हरपाल सिंह, इरफान शेख र राजितराम वर्मा जिल्ला प्रहरी कार्यालय, बर्दियाको हिरासत गुलरियामै छन्।
यसअघि २०७२ साल चैत्र ६ गते नेपालगञ्जको महेन्द्रपार्कबाट समातेर यादव सहित ८ जनामाथि राज्य विप्लवको मुद्दा चलाएको थियो। सो मुद्दामाथि सुनुवाई गर्दै विशेष अदालतले २०७४ साल फाल्गुण ३ गते सफाई दिएको थियो। २०७३ साल मंसिर १० गते पनि गठबन्धनले नेपालगञ्जमा आयोजना गरेको ‘रंगभेदी दिवस’ को अवसरमा यादवलाई नेपाल प्रहरीले गिरफ्तार गरी मंसीर १२ गते रिहा गरेको थियो। २०७४ साल असार २ गते पनि स्थानीय निर्वाचन अगाडि ‘नो भोट’ को प्रचारप्रसार गरेको आशंकामा यादवलाई प्रहरीले पक्राऊ गरेको गठबन्धनले जनाएको छ।
सो मुद्दामा उच्च अदालत तुलसीपुरको आदेशमा आषाढ़ १९ गते यादवलाई रिहा गरिएका थिए। प्रहरीले बिना कसूर र आधार पटक–पटक पक्राऊ गरी यातना दिने गरेको विषयमा २०७३ साल मंसीर १४ गते यादवसहित चारै जनाले राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटेर ज्ञापनपत्रसमेत दिएका थिए।
३० वर्षीय यादवका २ छोरा र १ छोरी छन्। यादवको बुवाको मृत्यु भइसकेको छ।
उपेन्द्र यादवलाई कालो झण्डा देखाउनेको स्वास्थ्य अवस्था गम्भीर




[…] उपेन्द्र यादवलाई कालो झण्डा देखाउनेक… […]