
भक्तपुरः उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले संविधान संशोधनको माग गरेका छन्।
संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेको यादवले संघीयता र गणतन्त्रलाई बलियो बनाउन संविधान संशोधनको विकल्प नभएको बताएका छन्।
संघीय समाजवादी फोरम नेपालको भक्तपुर नगर भेलालाई सम्बोधन गर्दै फोरमका अध्यक्ष यादवले सबैको समान अधिकार पाउने अवस्था सिर्जना गर्न संविधान संशोधन अनिवार्य भएको बताउँदै भने,‘संविधान संशोधन गर्ने, किनारा लाग्न बाँकी राष्ट्रिय मुद्दाको सम्बोधन गर्ने र विगतमा भएका विभिन्न आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने सहमति भएर हामी सरकारमा आएका हौँ, अहिले सहमतिलाई पूरा गर्ने अभियानमा हामी लागेका छौँ ।’
अहिलेकै संविधानका प्रावधानबाट पछाडि परेका वर्ग, जाति, भाषा, धर्म र भूगोलको समस्या एवं अधिकार सम्बोधन गर्न असम्भव छ भएको बताउँदै यादवले भने, ‘अहिलेम्म केही सीमित व्यक्तिको वरिपरि मात्रै सत्ता घुमेको छ, सत्ताको पहुँचसम्म नेवार, मधेशी, जनजाति, दलित र पहाडका खसको पहुँच पुगेको छैन, अब पहुँचको विस्तार गर्नुपर्छ।’
त्यस अवसरमा पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ तथा केन्द्रीय सदस्य कृष्णबहादुर घजु, वीरेन्द्र प्रधान, आङडेण्डी शेर्पा र भक्तपुर जिल्ला अध्यक्ष दीना लामाले संविधानमार्फत सबैको अधिकार सुनिश्चित गर्नुपर्ने बताएको राससले जनाएको छ।



