हुलाकी न्यूज, काठमाडौं :
तेस्रो मधेश आन्दोलनको क्रममा सप्तरीको मलेठमा प्रहरीको गोलीबाट पाँच जना प्रदर्शनकारी मारिएका थिए।

तत्कालिन नेकपा एमालेको स्थानीय निकायको चुनाव लक्षित मेची महाकाली अभियान सफल पार्न प्रहरीले गोली चलाउँदा पाँच जना प्रदर्शनकारीको मृत्यु भएको थियो भने १३ जनाभन्दा बढी गम्भीर घाइते भएका थिए।

प्रहरीको बल प्रयोग बारेको यो भिडियो हेर्नुस्

उक्त घटनाको मुख्य दोषी मधेशी मोर्चा रहेको उल्लेख गर्दै राष्ट्रिय मानव अधिकार आयोगद्वारा सोमबार काठमाडौंमा सार्वजनिक गरिएको प्रतिवेदनमा भनिएको छ,‘मलेठ घटनाको पनि सर्वपक्षीय विश्लेषण गर्दा फागुन २३ मा स्थानीय प्रशासन र सुरक्षा निकायको सुझाव विपरित औद्योगिक क्षेत्रमा सभा गर्ने ने.क.पा. (एमाले), त्यसलाई जुन मूल्य चुकाएर भएपनि हुन नदिने वा विथोल्ने कटिबद्ध भई त्यहाँ जाई लाग्ने प्रदर्शनकारीहरुको अगुवाई गर्ने सप्तरी जिल्लाको मधेशी मोर्चा नै मुख्य दोषी रहेको भन्ने यस समितिको निष्कर्ष रहेको छ ।’

मलेठ घटना पछि श्रद्धाञ्जली सभामा फोरम अध्यक्ष उपेन्द्र यादवको प्रतिक्रिया।

यी दुवै पक्षबाट सुरक्षा निकाय, प्रशासनलाई निरीह बनाइएको उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ ‘त्यसरी निरीह नबनेर प्रशासन र सुरक्षा निकायले त्यहाँ कुनै हालतमा पनि सभा गर्न दिनुपर्ने थिएन । औद्योगिक क्षेत्रमा सभा गर्न दिनु र त्यसको लागि दुरुपयोगको हदसम्म व्यापक संख्यामा सुरक्षा फौज परिचालन गर्नु प्रशासन र सुरक्षा अधिकारीहरुको कमजोरी र दोष दुवै रहेको भन्ने यस समितिको निष्कर्ष रहेको छ ।’

सुरक्षा निकायको दोष तिनीहरुको जिम्मेवारीको अनुपातमा मात्र रहेको भन्ने बुझाई समितिको रहेको छ।

मलेठ घटनाको छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगले २०७३ चैत ३१ गते घटनाका सम्बन्धमा अनुसन्धान गर्न एक उच्च स्तरीय समिति गठन गरी छानविन गर्ने निर्णय गरेको थियो । सोही बमोजिम सर्वोच्च अदालतका पूर्व न्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा फरेन्सीक विशेषज्ञ डा.हरीहर वस्ती, राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत द्वय मन्जु खतिवडा र जीवन न्यौपाने सदस्य रहेको उच्च स्तरीय छानविन समिति गठन गरिएको थियो।

उक्त समितिको सुझावमा भनिएको छ,‘मलेठ घटनालाई एउटा बिशेष घटनाको रुपमा लिन सकिन्छ किनभने त्यहाँ कुनै स्थानीय वा राष्ट्रिय विवादित बिषयमा एकतर्फी वा दुई पक्षीय जुलुस छैन । प्रदर्शनकारीहरुले राज्य वा सरकारसंग कुनै माग राखेको र त्यो पुरा नभएबाट जुलुस निस्केको पनि छैन । अर्थात् मधेशी मोर्चाको प्रदर्शन राज्य वा सरकारको बिरोधमा वा स्थानीय प्रशासनको बिरोधमा वा नेपाल सरकारले नेपालको कुनै भागमा कुनै कारवाही गरेको वा कुनै नीति वा कार्यक्रमको बिरोधमा छैन । त्यो प्रदर्शन शुद्ध र स्पष्ट रुपले एउटा राजनैतिक दल बिरुद्धको प्रदर्शन मात्र हो ।’

यसबाट शिक्षा लिएर भविष्यमा यस्तो घटना हुन नदिने तर्फ सरकार, स्थानीय प्रशासन र सम्बद्ध राजनैतिक दलहरु पुर्ण रुपले प्रतिवद्ध हुनु जरुरी रहेको प्रतिवेदनमा सुझाव दिइएको छ।

घटना भएको केही दिनपछि घटना स्थलको अनुगमन पछि मानव अधिकार आयोगकी सदस्य एवं प्रवक्ता मोहना अंसारीको प्रतिक्रिया ।

मृतकहरुलाई कुन ठाउँमा ठोकिए गोली?

सुरक्षाकर्मीले रिपोर्ट गरे अनुसार नै प्रतिवेदनमा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको पर्खाल नाघ्न खोज्दा गोली चलाइएको भनिएको छ। मानव अधिकार आयोगको रिपोर्टमा मृतकहरुलाई कुन स्थानमा गोली हानिएको अथवा कार्यक्रम स्थलबाट कति टाँढा रहेका प्रदर्शनकारीलाई गोली हानिएको उल्लेख छैन।

मलेठ घटनामा प्रहरीले घटना स्थलभन्दा निकै पर लगेर प्रदर्शनकारीमाथि गोली प्रहार गरी हत्या गरेको थियो।

प्रहरीले एक जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर र अर्कोलाई घरमा प्रवेश गरी गोली हानी हत्या गरेको खोज पत्रकारिता केन्द्रको यो भिडियो।

सरकार र सुरक्षाकर्मीको बचाउ

यो प्रतिवेदनले सरकार र सुरक्षाकर्मीको बचाउ गरेको छ। सुरक्षाकर्मीले उपलब्ध गराएको तथ्यांक र बयानका आधारमै प्रतिवेदन तयार पारिएको देखिन्छ।

उक्त घटनामा मधेशी मोर्चालाई मुख्य दोषी मानिएको छ भने एमालेलाई पनि दोषी भनिएको छ। तर सुरक्षाकर्मीले आफ्नो जिम्मेवारी अनुकुल गोली चलाएको भनिएको छ। अर्थात प्रहरीले कानुन विपरीत छाती र टाउकोमा गोली हानेको विषयमा दोषी ठहर गरिएको छैन।

कार्यक्रम स्थलबाट निकै टाँढा रहेका प्रदर्शनकारीहरुलाई प्रहरीले लखेटेर गोली हानेको चर्चा गरिएको छैन।

मधेश आन्दोलनताका मधेशप्रति निकै पूर्वाग्राही देखिएका काठमाडौंको मिडियाको समाचार सामाग्रीहरु साभार गरिएको देखिन्छ। जसले आयोगलाई पूर्वाग्राही प्रतिवेदन लेख्न मदत गरेको छ।

गौर र टीकापुर घटनाको त्रासले प्रहरीले अन्दाधुन्द गोली चलाए

‘एमाले मेची महाकाली अभियानमा सशस्त्र प्रहरीको झापा देखि धनकुटा सम्मका प्रहरी कर्मचारी परिचालित थिए । प्रदर्शनकारीहरुले भाला,भाटा, पेट्रोल बम बोकेका थिए । सुरक्षाकर्मीहरु घाइते भएका थिए। प्रदर्शनकारीहरुले हामीलाई लखेटी रहेका थिए । नेपाल प्रहरी पछाडी हट्यो । हामी सवारी साधन सुरक्षाको लागि खटेका थियौं । त्यही समयमा गोलीको आवाज सुनिएको थियो तर काहाँ र को बाट गोली चलेको थियो भन्न सकिएन ।’ घटना बारे प्रहरीको एक बयानमा भनिएको छ।

‘जिल्लास्थित शसस्त्र प्रहरी वलको कार्यालयका प्रहरी कर्मचारीहरु बजार एरियामा परिचालन गरिएको र कार्यक्रमस्थलमा अन्यत्रबाट आएका प्रहरी कर्मचारीहरु खटिएका थिए । गोली चलाउनु परिस्थिती सृजना भएमा प्रमुख जिल्ला अधिकारीको आदेश प्राप्त गर्नुपर्दछ । आत्मरक्षा गर्नुपर्ने भएमा गोली चलाउन सकिने र प्रहरीको हतियार तथा सञ्चार सेट खोस्न खोजेमा पनि गोली हान्न सकिन्छ । सुन्सरीबाट खटिएको प्रहरीको सेट खोसिएकोमा हाल सम्म फेला पर्न नसकेको । दिनभर प्रहरी र प्रदर्शनकारी बिच धकेलाधकेल भईरहेको थियो । करीब ४,००० को संख्यामा मोटरसाईकलहरु थिए । एमालेका ३ वटा बाईक प्रदर्शनकारीले जलाईदिएका थिए । तोकिएको निषेधित क्षेत्र पनि प्रदर्शनकारीले नाघीसकेका थिए । प्रहरी कर्मचारीबाट माईकिङ्ग तथा चेतावनी दिने कार्य भएको थियो । ३,४ हजार जतिको संख्यमा भीड रहेको थियो ।’ बयान ।

‘कार्यक्रमको अन्त्यतिर झन भीड बढेको थियो । अन्त्यतिर एमालेका नेताहरु मथि नै आक्रमण गर्ने संभावना देखेर सुरक्षार्थ गोली चलाउनु पर्यो । दोहोरो झडपको क्रममा भुईमा ढलेको अवस्थामा छाती र टाउकोमा गोली लागेको हुनसक्छ । हरेक १३ जनाको प्रहरी बटालियनमा दुई जना संग हतियार रहन्छ भने अन्यसंग लाठी मात्र रहेको हुन्छ । त्यो बेलाको समय र परिस्थितीमा गोली नचलेको भए बिगतका गौर र टीकापुर घटना दोहोरिन सक्ने संभावना थियो । प्रहरीले उक्त दिन ठुलो क्षति हुनबाट जोगाएको हो ।’ सशस्त्र प्रहरी उपरिक्षक प्रहरी ३ तथा प्र.ना.उ.प्रहरी ४, प्रहरी हवल्दार प्रहरी ५, प्रहरी ६ लगायतको भनाई । यो बयान प्रतिवेदनमा राखिएको छ।

कारवाही कस्लाई ?

यस प्रतिवेदनले कारबाहीको लागी कसैलाई सिफारिश गरेको छैन। उक्त घटनामा पाँच जनाको मृत्यु र १३ जना भन्दा बढी घाइते भएको सर्वविदीतै छ। तर पनि कसैलाई कारबाहीको सिफारिश गरिएको छैन।

यस अघिका केहि अनुगमनकर्ताहरुले उक्त घटनामा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको जानकारी गराएका थिए।

प्रहरीले प्रदर्शनकारीको टाउको र छातीमा गोली हानी हत्या गरेको स्वीकार प्रतिवेदनमा पनि गरिएको छ।

आयोगको पुराप्रतिवेदन पढ्न यहाँ जानुस्।

http://www.nhrcnepal.org/nhrc_new/doc/newsletter/742853205Investigation_Report_on_Maleth_Incident.pdf

संसदीय समितिको अनुगमन र प्रतिक्रिया

3 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.