हुलाकी न्युज, सिरहा । पूर्ण सरसफाई मुलुक घोषणाको राष्ट्रिय लक्ष्यमा बल पु¥याउन गाउँपालिकालाई पूर्ण सरसफाई उन्मुख तर्फ क्रियाकलापलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले बताए ।
जागृति नेपाल कृष्णपुर–७ सिरहाको आयोजनामा भएको ‘वातावरण संरक्षण तथा सरसफाई सम्बन्धी पाँच दिने अभिमुखीकरण र सचेतना कार्यक्रम पाँच दिने तालिमको समापन समारोहमा बोल्दै उनले गाउँपालिकाले निर्धारण गर्ने पूर्ण सरसफाई सम्बन्धी क्रियाकलापमा गाउँपालिकाबासीको सक्रियताको खाँचो रहेको बताए । ‘छनिक फाईदा र प्रभावलाई छोडेर यो राष्ट्रिय अभियानमा लाग्यो भने गाउँपालिकाबासीको पहिचान बलियो हुनेछन्,’ उनले भने ।
गाउँपालिकाबासीले सक्रिय सहभागीता र सहकार्यता देखायो भने हरेक प्रकारको सहयोग गर्न गाउँपालिकाको कार्यालय तयार रहेको उनले प्रष्ट पारे । बृक्षारोपन, साप्ताहिक सरसफाई, सामुदाय सचेतीकरण कार्यक्रम, सरसफाई सम्बन्धी अन्य क्रियाकलाप, खुल्ला दिशामुक्त घोषित गाउँपालिकालाई थप व्यवस्थित गर्न अन्य क्रियाकलाप सम्बन्धी उनले कार्ययोजना राखे ।
शौचालयको नियमित प्रयोग र पूर्ण सरसफाईको अवस्था सृजना भयो भने सबैभन्दा बढि फाईदा महिलाहरुलाई हुने विष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष अरहुला देवी सिंहले बताइन् । अचेतना, अशिक्षा र अभावका कारण अहिले पनि कतिपय महिलाहरु खुल्ला रुपमा शौच गर्न बाध्यता भोगिरहेको तर्फ गर्दै उनले भनिन्,‘अतिविपन्न वर्गमा यो अवस्था रहेको छ ।’
अतिविपन्न वर्गको अवस्थालाई सहजतामा परिवर्तन गर्न रणनीति बनाएर गाउँपालिकाबाट विभिन्न खाले क्रियाकलाप संचालन गरिनुपर्ने उनको भनाई रह्यो । गृहिणीको रुपमा काम गर्ने महिला फोहोरको कारण लाग्ने सक्ने रोगबाट बढि प्रभावित भइरहेको उनले तर्फ गर्दै त्यसबाट बच्न गाउँपालिकाले निर्धारण गर्ने क्रियाकलापमा सबै जुट्नुपर्ने आह्वान गरिन् ।
गाउँपालिकाले खुल्ला दिशामुक्त घोषित कार्यलाई थप व्यवस्थित र पूर्ण सरसफाई केन्द्रित गर्ने हरेक खाले कार्यमा वडाको पूर्ण साथ रह्ने वडाध्यक्षहरुले प्रतिबद्धता जनाए । उनीहरुले भने,‘यो कुनै एक व्यक्ति, समुदाय र निकायको मात्र नभई राष्ट्रिय पहिचानको लक्ष्य रहेको हुँदा यसलाई पुरा गर्न हरेक खाले सयोग गर्न हामी तयार छौं ।’ कार्यक्रम पाँच वटै वडाका वडाध्यक्षहरु क्रमश गोपिन्द्र यादव, रामइश्वर यादव, जयकुमार यादव, राजकुमार यादव, कपिल देव यादवको सहभागीता रहेको थियो ।
विष्णुपुर गाउँपालिकाको सहयोगमा भएको उक्त तालिममा पाँच वटै वडाका ६० जनाभन्दा बढिको सहभागीता रहेको तालिम संयोजक शिवदयाल यादवले बताए । उनले तालिममा समावेशी तवरले सहभागी छनौट गरिएको र सबै वडाको प्रतिनिधित्व गराइएको जनाए । उनका अनुसार पूर्ण सरसफाई सम्बन्धी अन्य क्रियाकलाप गर्न पाँच वटै वडामा समिति गठन गरिएका छन् ।
राष्ट्रिय लक्ष्यमा सहयोग पुगोस भने अभिप्रायका साथ गाउँपालिकाले पूर्ण सरसफाई सम्बन्धी निर्धारण हरेक खाले क्रियाकलापलाई प्रशासनिक तवरले सहयोग गर्न तयार रहेको प्रमुख प्रशासकिय अधिकृत रामप्रमोद यादवले बताए । गाउँपालिकाको हित र प्रतिष्ठा कर्मचारीको लागि गौरवको विषय रहेको उनले तर्क राखे ।



