हुलाकी न्युज, सिरहा । तीन पार्टीका समर्थकहरुले पारदर्शिताको माग राख्दै नरहा गाउँपालिका वडा कार्यालय एकमा तालाबन्दी गरेको छ ।
योजना छनौट विधि, बजेट तथा उपभोक्ता समिति गठन प्रक्रिया लगायतका वडामा हुने विकासका अन्य कार्यक्रमहरु पारदर्शि गर्न माग राख्दै नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल र राजपा निकटका समर्थकहरुले तालाबन्दी गरेका हुन् । तीनवटै पार्टीका १ सय २२ जनाले संयुक्त रुपमा हस्ताक्षर गरेर तालाबन्दी गरेका छन् ।

‘वडा भेलाबाट पारित भएको योजनालाई कटौती गरेर स्वार्थ अनुसार अरु खुद्रे योजना छनौट गरेको छ,’ नेपाली काँग्रेसका बिमल मण्डलले भने,‘योजना कार्यान्वयनको चरणमा छ तर स्टिमेट र लागत खर्च विवरण माग्दा दिइरहेको छैन् ।
’
गोप्य रुपमा उपभोक्ता समिति गठन गरेर वडाध्यक्षले आफ्ना निकटका मान्छेहरुलाई राखेको उनले आरोप लगाए । ‘बस्ती स्तरको योजनामा आफ्ना नजिकका केही खास व्यक्तिलाई मात्र जानकारी गराएर उपभोक्ता समिति गठन गरेको छ,’ थप्दै उनले भने,‘वडाको विकास भन्दा वडाध्यक्षले आफ्ना निकटका कार्यकर्ता पाल्न खुद्रे योजनामा बजेट सिध्याउन खोजेको छ ।’ वडामा ४५ वटा योजना छनौट गरिएका छन् ।

विकास निर्माण तथा वडासँग सम्बन्धित अन्य कागजातहरु सार्वजनिक गर्न मौखिक रुपमा माग गर्दा वेवास्ता गरेपछि बाध्य भएर तालाबन्दी गरेको मकेश्वर यादवले बताए । वडा स्तरमा हुने कामकाज सम्बन्धी कागज दिन गाउँपालिका कार्यालयले पनि वेवास्ता गर्दै आएको उनले आरोप लगाए ।

वडा कार्यालयमा तालाबन्दी भएको नौ दिन भइसक्यो तर स्थानीय रुपमा कुनै छलफल भएको छैन् । स्थानीय प्रशासनले आफुलाई साथ नदिएको वडाध्यक्ष अशोक साहले आरोप लगाए । उनका अनुसार जिल्ला प्रशासन देखि इलाका प्रहरीसम्म उजुरी गरे तर कुनै निकायले राम्रोसँग सुनुवाई गरेको छैन् । आफु थकित भएको उनले सुनाए ।

‘तालाबन्दी गर्नुको कुनै तुक छैन्,’उनले भने,‘विपक्षीहरुलाई काम नदिँदा अबरोध गर्न खोजेको छ । विपक्षीहरुले कमिशन माग गरेको छ ।’ तालाबन्दी गरेपनि विकास निर्माणका कामहरु जारी नै रहेको उनले थपे । ‘तालाबन्दीबाट खासै असर परेको छैन्,’ उनले भने ।

‘उपभोक्ता समिति गठनबारे गाउँलेहरुलाई थाहा छ’,उनले भने,‘आफुबाट कुनै गल्ती भएको छैन् ।’ तर उपभोक्त समिति गठनबारे स्थानीयहरुलाई कुन माध्यमबाट जानकारी दिइएको भनी प्रष्ट्याउन सकेन्, वडाध्यक्ष साहले । तालाबन्दीका कारण दैनिक प्रशासनिक कामकाग ठप्प हुँदा सेवाग्राहीहरु मारमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.