हुलाकी न्युज, धनुषा । प्रदेश नं २ मा प्रदेशसभाका कर्मचारीहरू कार्यालयमा नआएका कारण व्यवस्थापिका र कार्यपालिका सञ्चालनको कामकाज प्रभावित भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत सातवटा मन्त्रालयको कामकाजलाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालनका लागि सरकारले १७४ जना कर्मचारी खटाउने निर्णय गरेको भए पनि हालसम्म २१ जना कर्मचारी मात्र उपस्थित भएका छन् ।

सरकारले १५ दिनअघि नै निर्णय गरेर प्रदेशमा जान कर्मचारीलाई निर्देशन दिए पनि अहिलेसम्म प्रमुख सचिवलगायत २१ जना कर्मचारी मात्र हाजिर भएका कारण कामकाज व्यवस्थित हुन नसकेको प्रदेश नं २ का प्रमुख सचिव राजेश्वरमान सिंहले जानकारी दिनुभयो । उहाँले सरकारले कर्मचारी खटाएको महिना दिन बित्न लाग्यो तर कर्मचारीहरू अटेरी गरेर हालसम्म पनि उपस्थित नभएकाले प्रदेशसभालगायत मन्त्रालयहरुको कामकाज बाँडफाँड गरेर समयमै सक्न समस्या भएको बताउनुभयो ।

प्रदेश सचिवालय सञ्चालनका लागि २७ जना कर्मचारीको दरबन्दी रहे पनि कर्मचारी नआएपछि प्रदेशसभा सञ्चालनका लागि तालीम दिन खटिएका सहसचिव लगायतका सात जनाले नै सचिवालयको कामकाज गर्न बाध्य छन् ।

यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २१ जनाको दरबन्दीमा आठ, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा २३ जनाको दरबन्दीमा चार, आर्थिक मामिला तथा योजना मन्त्रालयमा १८ जनाको दरबन्दीमा दुई, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा २४ जनाको दरबन्दीमा दुईजना कर्मचारी मात्र उपस्थित हुन सकेका छन् ।

यसैगरी समाजिक विकास मन्त्रालयमा ३० जनाको दरबन्दीमा एकजना पनि उपस्थित हुन सकेको छैन । उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयमा २९ जनाको दरबन्दीमा चार र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा २९ जनाको दरबन्दीमा एकजना मात्र उपस्थित हुन सकेको छ ।

कर्मचारी अभावकै कारण २१ गते भएको प्रदेश नं २ को पहिलो प्रदेशसभा बैठकमा केही अप्ठ्यारो भएको थियो । अब फागुन २ गते सभामुख र उपसभामुखको निर्वाचनलगत्तै प्रदेश सरकार गठन प्रक्रिया शुरु हुनेछ तर प्रदेश सचिवालय र मन्त्रालयमा कर्मचारी नभएकै कारण तयारीमा समस्या भइरहेको बताइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.