हुलाकी न्युज, पर्सा | जग्गाको मुआब्जा माग गर्दै अलौवासी वीरगन्जको एकीकृत सुरक्षा जाँचचौकी (आइसिपी)को मूलढोकामा धर्ना बसेका छन् ।
आइसिपीमा अधिग्रहण गरिएको ११० बिघा जग्गाको जायज मुआब्जा जग्गाधनीलाई उपलब्ब्ध गराउनुपर्ने माग राख्दै अलौका ३४५ परिवारका सदस्य धर्नामा बसेका हुन् । विसं २०६५ मा आइसिपीका लागि अधिग्रहण गरिएको जग्गाको जायज मुआब्जा सरकारसँग माग गर्दा समेत नपाएपछि बाध्य भएर धर्ना बस्नुपरेको आइसिपी मुआब्जा पीडित परिवार संघर्ष समितिका अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले जानकारी दिनुभयो ।
उहाँले जग्गाको मुआब्जा माग गर्दै २०६७ सालमा अलौवासीले आन्दोलन गर्दा तत्कालीन सचिव शिवहरि शर्मा नेतृत्वको टोलीले त्यहाँ पुगेर छानविन गरी प्रतिकठ्ठा रु छ लाख ६२ हजार ७२३ मुआब्जा दिन सिफारिस गरेको र उक्त रकम नै मुआब्जामा जग्गाधनीले माग गर्दै आएको जिकिर गर्नुभयो ।
विसं २०६५ मा आइसिपीका लागि जग्गा अधिग्रहण गर्दा जग्गाको प्रकृतिअनुसार रु ७०–रु ७३ हजार प्रतिकठ्ठाको दरले जग्गाधनीलाई सरकारले मुआब्जा पहिले नै उपलब्ध गराइसकेको छ । रासस



