
हुलाकी न्युज, सिरहा । बढ्दो चिसोका कारण तराई मधेशका विपन्न वर्ग कष्टपूर्ण जीवन बिताउन बाध्य भएको सिरहा क्षेत्र नं. ३ प्रदेशसभा (ख) का सदस्य प्रमोद यादवले बताए । जिल्ला युवा समितिको कार्यालय सिरहाको सहकार्यमा विहिवार राष्ट्रिय युवा परिषद्ले शितलहर पिडित परिवारलाई चिसो छल्न न्यानो कपडा वितरण समारोहमा त्यस्तो कुरा बताएका हुन् ।
यस्तो विपद्को घडीमा न्यानो कपडा वितरण गर्नेहरुलाई उनले बधाई दिए । उनले आर्थिक विपन्नताले सिरहाका हजारौं हजार घर परिवार चाहिने जस्तो कपडा लगाउन नपाएर कष्टपूर्ण जीवन बिताउन बाध्य भइरहेको थपे । अब बन्ने सरकारले यस्ता वर्गलाई विषेश प्राथमिकतामा राखेर आफ्ना कार्ययोजनाहरु बनाई लागु गर्ने उनले दाबी गरे ।
यस्तो चिसोको मौसममा महिलाहरुलाई बढि कष्ट भोग्नु परेको अर्की प्रदेशसभा सदस्य जगताईन देवी साहले बताइन् । उनले सम्पन्न वर्गका महिलालाई त्यस्तो खासै असर नपरे पनि विपन्न गरिब तथा दलित वर्गका महिलाहरुलाई ज्यादै कष्ट भोग्न परिरहेकी थपिन् ।
२ सय ९३ सेट महिला, २ सय ४५ सेट बालबालिका र २ सय ८९ सेट पुरुष गरी ८ सय २७ सेट न्यानो कपडाको प्याकेट वितरण गरियो । उक्त कपडा सिरहाको विभिन्न ठाउँमा वितरण गर्दै विहिवार सिरहा नगरपालिकालाई लक्षित गरेर जिल्ला युवा समितिको कार्यालय परिसरमा विपन्न दलित लक्षित विभिन्न परिवारलाई न्यानो कपडाको प्याकेट वितरण गरिएका छन् ।
युवा परिषद् तथा केही सामाजिक संस्था, व्यापारीहरुको सहयोगमा कपडा वितरण गरिएको परिषद्का उपसचिव ध्रुवराज पौडेलले बताए । उनले थोरै भएपनि चिसो छल्न सहज होस भन्ने अभिप्रायका साथ न्यानो कपडा बाँडिएको जनाए । सिरहा जिल्ला लगायत तराई मधेशका अन्य जिल्लाका विपन्न गरिब, दलित लक्षित न्यानो कपडा बाँडिने कार्यक्रम रहेको उनले थपे ।
राष्ट्रिय युवा परिषद्ले आफै र देशको सबै जिल्लामा रहेका जिल्ला युवा समितिको कार्यालयहरुको सक्रियतामा ३५ खाले युवा लक्षित कार्यक्रम संचालन गरिने उपसचिव पौडेलले बताए । उनले संचालन हुने विभिन्न कार्यक्रमबाट लाभ उठाउन युवाहरुले सक्रिय भएर रहनुपर्ने थपे । प्रदेश नं.२ का ८ जिल्ला र अन्य २ जिल्लामा उपराष्ट्रपति युवा पुनस्र्थापना कार्यक्रम संचालन गरिने जनाए । उनले यस कार्यक्रम अन्तर्गत महिला उद्यमशिलता भएका व्यक्तिलाई उनीहरुले माग गरेको व्यावसायमा सहयोग गरिने थपे ।
अस्थिर राजनीतिक अवस्थाले अरु क्षेत्रमा प्रभाव पारे अनुसार युवा समितिले लिएको लक्ष्य र कार्यक्रममा प्रभाव परेको जिल्ला युवा समितिका अध्यक्ष बैधनाथ साहले बताए । उनले बनेका योजना अनुसार चाहिने बजेट केन्द्रबाट प्राप्त नहुँदा काम गर्न धेरै समस्या खेप्नु परेको दुखेसो गर्दै अब युवा समितिले लिएका लक्ष्यलाई पूर्ति हुने गरी बेलैमा बजेट व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे ।
केन्द्रबाट प्राप्त नीति, कार्ययोजना र बजेटको अधिनमा रही विगतमा निर्धारण भएका ठाउँहरुमा कार्यक्रम भन्दा सिकाई प्रक्रियालाई लागु गर्दै अझ राम्रो र प्रभावकारी तरिकाले आउने दिनको कार्यक्रमहरु संचालन गरिने उनले प्रतिबद्धता जनाए । उनले युवाले माग गरेका व्यावसायीक योजनाहरुलाई पूर्ति गराउन आफु हरेक खालको प्रयास गर्न तयार रहेको थपे । सिरहा नगरपालिकालाई लक्षित गरि वितरण कार्यक्रममा न्यानो कपडा पाएकाहरु हर्षित भएको छ।



