हुलाकी न्युज, राजविराज | सप्तरीको राजविराजमा यही पुस ७ र ८ गते आयोजना हुन लागेको अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको तयारी भइरहेको छ ।

मैथिली साहित्य परिषद् सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन मूल आयोजक समितिका संयोजक शुभचन्द्र झाले नेपालमा सबभन्दा बढी बोलिने दोस्रो भाषा मैथिलीको राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुव्यवस्थितरुपमा विस्तार गर्न, भाषाको संरक्षण र संवद्र्धन गर्न उचित वातावरणको निर्माण गर्न ‘अन्तर्राष्ट्रिय मैथिली सम्मेलन’ आयोजना गर्न लागिएको बताउनुभयो ।

दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन स्थानीय पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा भेला भई भव्य जुलुशसहित प्रभातफेरि गरी अनुपदास धर्मशालामा पुग्ने कार्यक्रम रहेको छ ।

त्यस्तै सम्मेलनमा स्मारिका र केही पुस्तकको विमोचन, ‘मिथिलारत्न’ र ‘मिथिलाश्री’ सम्मानसमेत नेपाल–भारतका विशिष्ट व्यक्तित्वलाई प्रदान गरिने छ ।

उद्घाटन सत्र समाप्तिपश्चात् तत्काल नेपाल–भारतका अतिविशिष्ट कलाकर्मीद्वारा भव्य सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने बताउँदै दोस्रो दिन विचार गोष्ठी राखिएको बताइएको छ ।

गोष्ठीमा प्रदेश नं २ मा मैथिलीलाई कामकाजको भाषा बनाइनुपर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत हुनेछ र त्यसमाथि विभिन्न विद्वानहरुले टिप्पणी प्रस्तुत गर्नुहुनेछ ।

सोही सत्रमा राजविराज घोषणापत्रसमेत सर्वसम्मतिले पारित गरिने योजना रहेको मूल समितिका संयोजक झाले बताउनुभयो । नेपाल–भारतका करिब २०० प्रतिनिधिको सहभागिता रहने दुवै दिनको कार्यक्रममा नेपाल र भारत दुवै देशका लब्ध प्रतिष्ठित लेखकद्वारा लेखिएका पुस्तकको प्रदर्शनीसमेत राखिने उहाँले जानकारी दिनुभयो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.