हुलाकी न्युज, धनुषा | नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिले प्राचीन मिथिलाको राजधानी रहेको जनकपुरधामलाई वर्तमान अवस्थामा प्रदेश नं २ को राजधानी बनाउन नेपाली काँग्रेसभित्र गृहकार्य शुरु भइसकेको बताउनु भएको छ ।

धनुषा क्षेत्र नं ३ प्रतिनिधिसभाका उम्मेदवार निधिले चुनावी प्रचार प्रसारका क्रममा जनकपुर उद्योग वाणिज्य संघमा आयोजित चुनावी सभामा बोल्दै जनकपुरलाई प्रदेशको राजधानी बनाउन काँग्रेसले केन्द्रमा लबिङ शुरु गरिसकेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयोे, “प्रदेशको राजधानी बनाउनु चानचुने कुरा होइन । गम्भीर प्रयास र सहयोगको खाँचो छ र जनकपुरलाई राजधानी बनाउन म लागिपरेको छु ।”

प्रदेश नं २ को राजधानी बनाउनु आफ्नो प्रमुख एजेण्डा रहेको बताउनु हुँदै निधिले भन्नुभयो, “राजधानी बनाउन पूर्वाधार आवश्यक हुन्छ, केही व्यापारीले जनकपुर चुरोट कारखानाको सम्पत्ति खरिद गर्ने प्रयास गरिरहेको बेला स्थानीय प्रशासनको मातहतमा ल्याएको छु ।” निधिले जटही–ढल्केबर व्यापारिक मार्ग निर्माण कार्य जारी रहेको बताउँदै निर्माण कार्य पूरा हुनासाथ जनकपुर व्यापारिक केन्द्र बन्ने निश्चित रहेको बताउनुभयो । निधिले व्यापारिक मार्ग निर्माणका साथै सीमा क्षेत्रमा नाका सञ्चालन भए लगत्तै स्थानीय व्यापारीलाई आयात निर्यात गर्न सहज हुने बताउनुभयो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.