हुलाकी न्युज, रौटहट | चन्द्रनिगाहपुर नगरपालिका–५ स्थित राधाकृष्ण मन्दिर नजिकै आज अपराह्न बम विस्फोट हुँदा आठजना घाइते भएका छन् ।

राधाकृष्ण मन्दिरको हलमा वाम गठबन्धनको ५ नं वडा भेलाबाट सहभागी बाहिरिने क्रममा अज्ञात समूहले राखेको बम विस्फोट भएको हो ।

विष्फोटमा परी स्थानीय ३१ वर्षीया सीता राई, सात वर्षीय जैविक राई, ४५ वर्षीया लक्ष्मी साह, ५४ वर्षीय रत्नबहादुर विक, ४८ वर्षीय कुन्ता खत्री, ३९ वर्षीय गोपाल विक, ४५ वर्षीय दिलमाया राई र ५० वर्षीय यमुना काफ्ले घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये यमुना र गोपालको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्थामा रहेका अन्य घाइतेलाई थप उपचारका लागि चितवन पठाइएको इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरले जनाएको छ । घाइतेको शरीरको विभिन्न भागमा चोट लागेकोे छ ।

वाम गठबन्धनको वडा भेलामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का केन्द्रीय नेता कल्याणी खडका र युवराज भट्टराईको उपस्थिति थियो ।

वाम नेता भट्टराईले चुनावी विषयमा भेला बसिरहेको क्रममा एकसाथ विस्फोटको आवाज सुनिएको बताउनुभयो । हालसम्म विस्फोटको जिम्मा कसैले पनि लिएको छैन ।

जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रामकुुमार दानीले बम विस्फोटमा संलग्नको खोजी भइरहेको बताउनुभयो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.