जनकपुरधाम, २६ कार्तिक ।
आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन धनुषामा निक्कै रोमाञ्चक हुने भएको छ । पहिलो र दोश्रो संविधानसभाको निर्वाचनमा ७ वटा क्षेत्रहरु रहे पनि प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा ४ वटा क्षेत्रमा सिमिति भएका कारण प्रदेश नं. २ को प्रस्तावित राजधानी अर्थात क्षेत्र नं. ३ को केन्द्र्रविन्दु जनकपुरमा काँग्रेस नेता निधि र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो बीच चुनावी प्रतिस्पर्धा निक्कै रामाञ्चक हुने देखिएको हो ।
नेपालको राजनीतिमा दुई हस्ति मानिएका नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधि र राजपाका अध्यक्ष मण्डलका सदस्य तथा सद्भावना पार्टीका पूर्व अध्यक्ष राजेन्द्र महतो दुवै नेता एउटै क्षेत्रबाट चुनावी मैदानमा उत्रिएपछि देशमै चर्चाको विषय बन्न पुगेको छ । निधि र महतो दुवै नेता देश र मधेशका लागि उतिकै महत्वपूर्ण भएकोले पार्टीबाट माथि उठेर हेर्दा आम नागरिकहरुमा कस्लाई भोट दिने भन्ने अन्योलता छाएको छ ।
प्रथम र दोश्रो संविधानसभाको निर्वाचनमा क्षेत्र नं. ३ बाट लगातार जित हासिल गरेका नेपाली काँग्रेसका नेता तथा पूर्व महामन्त्री समेत रहेका निधिको धनुगाा आफ्नै गृह जिल्ला पनि हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाललाई बलियो बनाउन र कम्यूनिष्टहरु मिलेर एउटै पार्टीको अधिनायकवादी व्यवस्था शासन स्थापना गर्छौ भन्ने, दुष्प्रयासलाई रोक्नको लागि नेपालमा शान्ति र समृद्धिको अभियान बढाउनको लागि नेपाली कांग्रेसलले उम्मेदवारी दर्ता गराएको र जित्ने सुनिश्चित रहेको निधिको दावी छ ।
यता आफ्नो गृह जिल्ला सर्लाही छोडेर धनुषा आएका राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले यो निर्वाचन एउटा निर्वाचन मात्र नभएर मधेश आन्दोलनको उत्कर्ष भएको बताए । मधेशी जनताको चाहना र भावना अनुसार मधेशको राजधानी जनकपुर र यहाँको मधेशी जनताको चाहना र भावनाको उच्च सम्मान गर्दै राष्ट्रिय जनता पार्टी नेपालले जनताको माँग अनुसार आफुले उम्मेदवारी दर्ता गराएको र आफ्नो जित सुनिश्चित भईसकेको दावी गरे ।
उनले भने – “जनताको सदिच्छा अनुसार मधेश आन्दोलनलाई अघि बढाउन आन्दोलनलाई उत्कर्षमा पु¥याउन जनताको उत्कृष्ट अभिलाषालाई मधेशी दल राजपा र संघीय समाजवादी फोरम नेपालको गठबन्धन मात्र पूरा गर्ने भएका कारण मिधेशी दललाई निर्वाचनमा मत दिन आग्रह गरे । अध्यक्ष महतोले निर्वाचनलाई आन्दोलनको रुपमा जनताको समर्थन र सदभाव तथा सहयोगले आन्दोलनलाई उर्जा मिल्ने बताउदै यो आन्दोलनको बहुमत भएकोले यसको सफलता प्राप्ती गर्नु भनेकै मधेशी जनताको चाहना र भावनाको सम्मान गर्नु भएको बताए ।
यता देश र मधेशको लागि दुवै नेता उत्तिकै आवश्यक रहेको राजनीतिक विश्लेकहरुको तर्क छ । काँग्रेस नेता विमलेन्द्र निधि र राजपा अध्यक्ष राजेन्द्र महतो दुवै उत्तिकै महत्वपूर्ण मानिएकाले मधेश र देशको लागि एउटै क्षेत्रबाट निर्वाचनमा टकराव गर्नु दुर्भाग्यपूर्ण भएको राजनीतिक विश्लेषक डा. भोगेन्द्र झाको भनाई छ । निधि र महतोको समर्थकका बीचमा हाल अमार्यादित कार्य भईरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले स्वस्थ्यकर राजनीतिक प्रतिस्पर्धा हुनु स्वभाविक भए पनि कार्यकर्ताहरुले समाजिक सञ्जालमा देखिएको प्रचार प्रसारको शैली संस्कार विहिन भएको बताए ।
क्षेत्र नं. ३ मा करिब १ लाख मतदाता
धनुषाको क्षेत्र नं. ३ मा जनकपुर उप–महानगरपालिकाको १७ वटा वडा, नगराईन नगरपालिका, धनौजी र मुखियापट्टी मुसहरनियाको सम्पुर्ण वडाहरु पर्छ । स्थानीय तहको निर्वाचनमा जनकपुर उप–महानगरपालिकामा राजपा नेपाल, नगराईन नगरपालिकामा नेपाली काँग्रेस, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा नेकपा एमाले र धनौजी गाउँपालिकामा राजपाका उम्मेदवार जितेका छन् । यी चारवटै स्थानीय तहको कूल मतदाता जनसंख्या ९७ हजार ५ सय २ रहेको निर्वाचन कार्यालय धनुषाले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.