
हुलाकी न्यूज, काठमाडौं । स्थानीय निकायको निर्वाचनमा जनकपुरधामको निर्वाचन रोचक बन्दै गएको छ । विभिन्न पार्टीले उम्मेदबार खडा गरे पनि अन्तिम समयसम्म दुईवटा पार्टीबीच कडा प्रतिस्पर्धा देखिएको छ । राष्ट्रिय जनता पार्टी नेपाल र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा भइरहेको देखिन्छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री विमलेन्द्र निधिको गृहजिल्ला भएकोले जनकपुर उपमहानगरपालिकामा कांग्रेसले जित्नु पर्ने दबाब निधिमाथि रहेको छ । कांग्रेसबाट दुई नम्बर प्रदेशको मुख्य मन्त्रीका सम्भावित उम्मेदबार पनि निधि रहेकोले निधिले सम्पूर्ण बल खर्च गरेर कांग्रेसलाई जिताउने पक्षमा छन् । तर जनकपुरधाम निधिको विपक्षमा रहँदै आएको छ । एक पटक निधि स्वयम् जनकपुरधामबाट चुनाव हारेका थिए ।
संविधान सभाको दोस्रो निर्वाचनमा पनि निधिका विश्वास पात्र रामसरोज यादव चुनाव हारेका थिए । अहिलेसम्मको अवस्था हेर्दा पनि जनकपुरधामका मेयरका उम्मेदबार मनोज साह हार्ने अवस्थामा देखिएको धेरैको आकलन रहेको छ । निधिले स्थानीय व्यापारीदेखि विभिन्न जातीय संगठनका माइजन देवानसहितलाई प्रलोभनमा पार्ने प्रयास गरिरहेका छन् । तर जनकपुरधाममा निधिको विरोधमा ठूलो समूह खडा भएको छ । निधिका विश्वास पात्र जीवनाथ चौधरीको समूहबाट प्रकाश मिश्रासहितका युवाहरु बाहिरिएर राजपाका नेता लाल किशोर साहको पक्षमा छन् ।
एडीबीको जनकपुर विकास योजनामा निधि बाधक रहेको र ल्याण्ड फिल्ड साइडका विषयमा विवाद गराएको जनकपुरबासीहरुको आरोप रहेको छ । त्यस्तै, राजर्षी विश्व विद्यालय र अन्तर्राष्ट्रिय विमान स्थल निर्माणमा निधि नै बाधक रहेको जनकपुरधामबासीको आरोप रहेको छ ।
यता संविधान सभाको दुइवटै निर्वाचन जितेका संजय साह हाल कारागारमा रहेका छन् । जनकपुरधामको उनको पकड अहिले पनि कायमै छ । पछिल्लो समय राजपासँग साहको सम्बन्ध चिसिए पनि अहिले साह राजपाका मेयरका उम्मेदबार लालकिशोर साहलाई जिताउन लागी परेका छन् ।
कारागारबाटै साहले चुनाव जिताउन विभिन्न प्रयासहरु गरिरहेका छन् । जनकपुर उपमहानगरपालिका पनि साहको अस्तित्वसँग जोडिएको छ । राजपाका निर्वाचित सांसदसमेत रहेका संजय साहले राजपाका मेयरसहितका सम्पूर्ण उम्मेदबारलाई जिताउन भरपुर बल लगाएका छन् ।
पूर्व गृहमन्त्री निधिले जुनजुन व्यक्तिलाई प्रभावमा पार्न खोजेका छन् ती व्यक्तिहरुलाई संजय साहले पनि फोनमार्फत प्रलोभनमा नपर्न आग्रह गर्दैछन् । हुलाकी न्यूजसँग कुराकानी गर्दै साहले जनकपुरधामसहित दुई नम्बर प्रदेशको अधिकांश स्थानमा राजपाले चुनाव जित्ने दाबी गरे ।
यता जनकपुरधाममा निधिले एक्लौटी ढंगले टिकट वितरण गरेकोले २६ वटा वडा मध्ये १९ वटाभन्दा बढी वडामा कांग्रेसका बागी उम्मेदबार उठेका छन् । त्यस्तै, पौडेल समूहका केही नेताहरु लालकिशोर साहको पक्षमा मतमाग्दै हिडेका छन् ।
त्यस्तै, नेकपा एमालेले आफ्नो उम्मेदबार चुनाव जित्ने सम्भावना कमदेखि पछि कांग्रेसका उम्मेदबारलाई हराउन राजपाप्रति नरम भएको देखिन्छ । कांग्रेस र एमालेबीच केही स्थानमा झडप भएको छ भने अन्य स्थानमा झडपको सम्भावनासमेत देखिएको छ ।



