
हुलाकी न्यूज, गौर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले माओवादी केन्द्रद्वारा आफ्नो कार्यकर्ताको हत्या भएको भन्दै विरोध गरिरहँदा माओवादीले त्यसको खण्डन गरेको छ ।
रौतहट जिल्लाको मौलापुर गाउँपालिकामा आफ्ना कार्यकर्ता बलविर पटेलको माओवादी केन्द्रका कार्यकर्ताहरुले हत्या गरेको भन्दै राजपाले मंगलबार साँझ प्रेस विज्ञप्ती जारी गरेको थियो ।
त्यसको खण्डन गर्दै माओवादी केन्द्रका पूर्व सांसद देवेन्द्र पटेलले उक्त घटना ट्रयाक्टर दुर्घटनाबाट भएको बताएका छन् ।
हुलाकी न्यूजसँग कुराकानी गर्दै पटेलले भने,‘मौलापुरमा कुनै झडप वा केही त्यस्तो घटना भएको छैन । बाटोको मोडमा ट्रयाक्टर पल्टिदा बलविर पटेलको मृत्यु भएको हो । राजपाले गलत प्रचार गर्दैछ ।’
यता रौतहट प्रहरीले पनि त्यस किसिमको कुनै झडप नभएको बताउँदै थप अनुसन्धान भइरहेको जनाएको छ ।
सम्बन्धीत समाचार



