हुलाकी न्युज, महोत्तरी । स्थाीनय तहको निर्वाचनका लागि प्रदेश नं २ को महोत्तरी जिल्लामा गएराति ११ बजेसम्म उम्मेदवारी दर्ता भएको छ ।

मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार जिल्लाको कुल ७२० पदका लागि हजाराँैको संख्यामा मतदाताले उम्मेदवारी दर्ता गराउनुभएकाले सो कार्य अबेर रातिसम्म भएको बताएका छन् ।

उहाँले जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकामा भएको उम्मेदवारी दर्ता राति अबेरसम्म चलेको बताए । बिहान १० बजेदेखि उम्मेदवारी दर्ताको कार्यक्रम रहेपनि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले बेलुका ३ बजेपछि मात्रै बढी संख्यामा दर्ताका लागि आएकोमा राति ११ बजेसम्म उम्मेदवारी दर्ताको काम चलेको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताएका छन् ।

उम्मेदवारी दर्तामा खटिएका कर्मचारीले राति ११ बजेसम्म सबै उम्मेदवारको दर्ता गरिसके पनि राति २ बजेसम्म पनि कम्प्युटर इन्ट्री गर्न नसकेको र अझै पनि सो काम भइरहेकाले आज बिहान मात्रै जिल्लामा कति उम्मेदवारी दर्ता भएकोबारे स्पष्ट हुने जानकारी दिए ।

महोत्तरीमा बुधबार निक्कै उल्लासपूर्ण वातावरणमा हजाराँै उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

दुई पत्रकार चुनावमा÷ पूर्व अध्यक्ष प्रमुखमा उम्मेदवार 
यसैगरी, असोज २ गते प्रदेश नं २ अन्तर्गत हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाबाट दुई जना पत्रकारले उम्मेदवारी दर्ता गराएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि महोत्तरी जिल्लाबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिप्रसाद मण्डलले प्रमुख पदमा उम्मेदवारी दिएको छ ।

नेपाल पत्रकार महासंघ महोत्तरीको लगातार तीन चरण नौ वर्षसम्म अध्यक्ष रहिसक्नुभएका तथा वर्तमान अवस्थामा पनि महोत्तरीबाट नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद्समेत रहनुभएका उहाँले आफ्नो स्थायी ठेगाना महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाबाट बुधबार स्थानीय तहको निर्वाचनका लागि प्रमुख पदमा उम्मेदवारी दर्ता गराएको छ ।

पत्रकार महासंघ महोत्तरी शाखाका पूर्व अध्यक्ष, वर्तमान पार्षद् तथा महोत्तरी जिल्लाबाट नेपाल टेलिभिजनका संवाददाता रहनुभएका पत्रकार मण्डललाई राष्ट्रिय जनता पार्टी नेपालले मटिहानी नगरपालिकाको प्रमुख पदका लागि टिकट दिएपछि उहाँले मटिहानी नगरपालिकामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएको हो ।

त्यसैगरी, नेपाल पत्रकार महासंघ, महोत्तरी शाखाका सल्लाहकार तथा प्रदेश नं २ का प्रादेशिक पार्षद् एवं लोकपुकार साप्ताहिकका संवाददाता पत्रकार वैद्यनाथ चौधरीले पनि महोत्तरी जिल्लाबाट स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

पत्रकार वैद्यनाथ चौधरी जिल्लाको पिपरा गाउँपालिका–७ बाट वडाध्यक्षको पदमा उम्मेदवारी दर्ता गराएको हो । पत्रकार चौधरीलाई वडाध्यक्ष पदका लागि नेपाल लोकतान्त्रिक फोरमले टिकट दिएपछि उहाँले पिपरा गाउँपालिकामा अवस्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएको हो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.