हुलाकी न्युज, जनकपुरधाम । भन्सार छलेर लैजाँदै गरेको १० लाख रुपैयाँ मूल्य बराबरको कपडा भन्सार कार्यालय जनकपुरले नियन्त्रणमा लिएको छ ।
ज १ च १२७५ नम्बरको पिकअपमा सिरहाको मिर्चैया लैजाँदै गरेको अवस्थामा १९ वटा पोकामा रहेको कपडा शुक्रबार राति धनुषाको विरेन्द्रबजारबाट नियन्त्रणमा लिएको भन्सार प्रमुख हेमचन्द्र शर्माले जानकारी गराए । सुराकीको आधारमा भन्सार कर्मचारीहरुकै टोली गएर कपडासहित पिकअप र चालकलाई समेत पक्राउ गरेका छन् ।
चालक सिरहाको सिरहा नगरपालिका ११ पदम पुरका प्रकाश साहलाई पक्रन सफल भएपनि पिकमै सवार अन्य दुई जना भागेको जनाएको छ । कपडा रामबाबु साह नामका व्यापारीले पिकअप भाडामा लिई आफुलाई ओसार्न भनेको पक्राउ परेका चालक प्रकाश साहको भनाई छ ।
भन्सार कार्यालयको अनुसार बरामद कपडा तस्करहररुले मोटरसाईकलमा ल्याई धनुषाको रघुनाथपुरमा जम्मा गरेका थिए । त्यस पश्चात त्यहाँबाट पिकअपमा राखि सिरहाको मिर्चैया लग्न खोजेका थिए । बरामद कपडा र पीकअप भन्सार ऐन अनुसार जफत गरिने भन्सार प्रमुख शर्माले बताए ।
यस्तै भन्सकार कार्यालय जनकपुरले गत आर्थिक वर्ष २०७३।०७४ मा १ करोड १३ लाख मूल्यबाराबरको भन्सार छली लैजाँदै गरेको मालसमान पक्राउ गरेको जनाएको छ । भन्सार कार्यालयले ५२ लाख र नेपाल प्रहरी,शसस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त रुपमा ६१ लाख मूल्य बराबरको समान पक्राउ गरी सकेको भन्सार प्रमुख शर्माले पक्रकार सम्मेलनगरी जानकारी दिएका छन् ।



