हुलाकी न्युज, इनरुवा । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको पहिलो नगरसभाले आव २०७४÷७५ को करिब रु ५५ करोडको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाका प्रमुख राजन मेहताले नगरपालिकाको पहिलो नगरसभाले पारित गरेको रु ५४ करोड ६९ लाख ३१ हजारको वार्षिक बजेट सार्वजनिक गरिएको वडाध्यक्ष श्रवण यादवले जानकारी दिनुभयो ।

नपाले सशर्त अनुदानको करिब रु १४ करोड ३९ लाख, निशर्त अनुदानतर्फको रु २७ करोड पाँच लाख, अन्य अनुदान रु ४५ लाख, जिससबाट प्राप्त राजश्व बाँडफाँटबाट प्राप्त हुने रु ३० लाख, वैदेशिक सहायता रु ३० लाख, लागत सहभागिताको रु ७५ लाख, आन्तरिक राजश्वको रु तीन करोड ९५ लाख ३० हजार र अघिल्लो आवको अल्या रु ५० लाख गरी ५४ लाख ६९ लाख ३१ हजारको बजेट पारित गरी सार्वजनिक गरिएको हो ।

पूँजीगत खर्चतर्फ नगरस्तरीय योजनाका रुपमा महानन्द पञ्चवटी पार्कका लागि रु ४० हजार, डोजर– रोलर– स्काभेटर– ट्रक र ट्र्याक्टरसहितका हेबी इक्विपमेन्ट खरिदका लागि रु एक करोड ५० लाख, खेलकुद विकास र व्यवस्थापनका लागि रु ५० लाख, युवा रोजगार तथा साना किसानका लागि रु १५–१५ लाख, धार्मिकस्थलको संरक्षणका लागि रु ४० लाख, चाडपर्व संरक्षण र चरा संग्रहालय निर्माणका लागि रु २०–२० लाख, , सोमबारे हाट वरिपरि पक्की सडक निर्माण र जल्पापुरमा कृषि बजार निर्माणका लागि रु २९–२९ लाख, मधेसामा कभर्ड हल निर्माण र विपद् व्यवस्थापन तथा भाषा, साहित्य, कला संस्कृतिको जगेर्नाका लागि रु ३०–३० लाख, पोष्ट ओडिएफका लागि रु १५ हजार, म्याचिङ फण्डका लागि रु दुई करोड, एकल महिला सशक्तीकरणका लागि रु पाँच लाख, महिला सशक्तीकरणका लागि रु १० लाख, इनरुवा प्रज्ञा–प्रतिष्ठानका लागि रु १० लाखको अक्षयकोष निर्माण, पत्रकार अक्षयकोष र विकासका लागि रु चार लाख, पुस्तकालय निर्माणका लागि रु २५ लाख र प्रत्येक वडामा रु एक करोड १० लाखको दरले बजेट विनियोजन गरिएको छ ।

राजश्वको अधिकांश दरलाई कायम राखिए पनि दलित र अल्पसंख्यकलाई लाग्ने करमा भने ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
बजेट सार्वजनिकीकरण कार्यक्रममा नगरप्रमुख मेहताले राजनीतिक पार्टीभन्दा माथि उठेर विकास निर्माणका काममा अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

पत्रकार यादव सम्मानित
कोशी गाउँपालिकामा गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादव र गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादव शुक्रबार सम्मानित हुनुभएको छ । स्थानीय माँ जानकी सामाजिक परिवारले यादवसँगै वडाध्यक्ष साहजमाल मियाँ, वडा सदस्य अकलीदेवी सदा, कमलेश्वरी यादव, शोभादेवी मेहता, मोहम्मद नौसादलाई सम्मान गरेको हो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.