हुलाकी न्युज, बर्दिवास । ‘माय, हम १२ पास कैलियई’ (आमा मैले १२ कक्षा पास गरेँ) महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका २० वर्षीय मञ्जय सादा मुसहरले आमा मानकी सादासँग खुशी साट्दै भने ।

बिहीबार प्रकाशित कक्षा १२ को परीक्षाको नतिजामा ५६ प्रतिशत अङ्क प्राप्त गरी उत्तीर्ण भएको खुशी मञ्जयले आमासँग साट्दै गर्दा मानकीका आँखाका डिल पनि खुशीका आँसुले भरिए ।

बुवा–आमा र जेठा दाजुहरु गिरत (मालिक) को काममा जाने र आपूm उज्यालो हुनासाथै काँधमा कोदालो भिरेर मुसाको शिकार गर्ने गरेको बचपन आफैँले व्यहोरेका मञ्जे (मञ्जयको घरमा बोलाउने नाउँ) का लागि १२ कक्षा उत्तीर्ण गरेको सफलता चानचुने होइन ।

“हामी मुसहर जन्मले नै कमारा (नोकर) भएर जन्मन्थ्यौँ”, मञ्जेले विगत सम्झँदै भने, “मुसहरका घरमा नयाँ छोरा जन्मनासाथ ऊ कुनै मालिकका लागि बचनमा बाँधिने चलन थियो ।” आफ्नो पुरानो परिवेश कोट्याएका मञ्जेले अगाडि भने, “यस्तो परिवेशमा जन्मेको आपूmलाई आज १२ कक्षा उत्तीर्ण गरेँ भन्न पाउँदा निकै खुशी लागेको छ ।”

बर्दिवासमा बसोबास गर्ने मुसहर समुदायको चौथो पुस्ताका मञ्जे १२ कक्षा उत्तीर्ण गर्ने अहिलेसम्मकै पहिलो व्यक्ति हुन् । अशिक्षा, गरिबी र सामाजिक पछौटेपनमा पारिएका मुसहर समुदायमा छोराछोरी पढाउने कुरा कसैले सोच्ने कुरै थिएन ।

खेल्न जाँदा बर्दिवासको मुसहर बस्ती नजिकैको जनता माध्यमिक विद्यालयमा पढ्न आउने गिरतका छोराछोरीसँगको उठबसले कहिलेकाहीँ कापीका पाना, कुनै पुस्तक बोकेर मञ्जे घर आउन थालेपछि यो नौलो काम गर्छ कि जस्तो लागेको मञ्जेका दाजु बिल्टु सादा बताउँछन् । “हाम्रो बुबा लक्ष्मी सादा बस्तीको अगुवा हुनुहुन्थ्यो”, भाइ मञ्जेको पढाइप्रतिको लगावबारे विगत कोट्याउँदै बिल्टुले भने, “अनि घरको कान्छो भाइ, बुबाआमा हामी सबैको प्यारो…! नियमित स्कूल जान थाल्यो, हामी सबैले जाओस् भन्यौँ र पो आज यो सफलता हात लाग्यो ।”

हुन पनि हो, आफ्नो पढाइमा बुबाआमा, दाजु–भाउजू, वरपरका आफन्त र गाउँका गिरतका छोराछोरीले समेत आपूmलाई माया गरेका मञ्जेको ठम्याइ छ । “खै किन हो मैले सबैको माया पाएँ”, मञ्जेले भने, “विद्यालयमा पनि गुरुहरु मलाई विशेष माया गर्नुहुन्छ जस्तो लाग्थ्यो, यसले मलाई पढाइको निरन्तरता दिन ऊर्जा दिन्थ्यो ।”

बिशेषगरी २०७२ सालको हिउँदमा हास्य कलाकार धुर्मुस र सुन्तली आफ्नो बस्तीमा पहिलोपटक आएर शिक्षाबारे सबैलाई सम्झाइबुझाइ गरेपछि आफ्नो बस्तीबाट विद्यालय जानेको संख्या निकै बढेको मञ्जे बताउँछन् । “विसं २०७२ को हिउँदमा पहिलोपटक हाम्रो बस्तीमा आउनुभएका धुर्मुस–सुन्तलीले नमूना बस्तीमात्र नभई मुसहरको मन नै उज्यालो बनाइदिनुभएको छ ।” मञ्जेले भने त्यतिखेर भर्खर एसएलसी पास गरेको म अगाडि पढ्थेँ, पढ्दैनथेँ ठेगान थिएन, तर धुर्मुस–सुन्तलीको न्यानो मायाले पढाइ जारी राख्न सकेँ र आज यो सफलता पाएको छु ।” अब उच्च शिक्षा जारी राख्ने मञ्जेले आफ्नो संकल्प पनि सुनाए ।

मञ्जे १२ कक्षा पास भएपछि अहिले मञ्जे र उनका परिवारमात्र नभएर सिङ्गै ५० घरपरिवार बसोबास भएको एकीकृत नमूना मुसहर बस्तीमा खुशी छाएको छ । “हामी सबै खुशी छौँ”, बस्तीका करिया सादाले भने, “यिनी पढ्नुपर्छ भनेर बाटो देखाउने हाम्रो आँखाका नानी हुन्, अब त झण्डै १०० भन्दा बढी नानी स्कूल गइरहेका छन्, हाम्रो खुशी दिनदिनै बढिरहने छ ।” मञ्जेको यो सफलतामा हास्य कलाकार धुर्मुस–सुन्तलीले पनि खुशी व्यक्त गरेका छन् ।

“हामी पहिलोपटक मुसहर बस्ती पुग्दा नांगै–भुतंगैै नाकमा सिँगानको लत्को झार्दै दौडने नानीहरु अब सफासुग्घर भएर विद्यालय गइरहेका छन्”, धुर्मुसले टेलिफोनबाट भने, “मञ्जेको सफलताले हामी (आपूm र सुन्तली) धेरै खुशी छौँ, अब लाग्छ, हामीले मुसहरलाई घरमात्र हैन सफा मन पनि दिन सकेछौँ ।”

महोत्तरीमा पिछडिएको दलित समुदायको मुसहर जातिबाट १२ कक्षा उत्तीर्ण गर्ने मञ्जे १० भित्र परेका छन् । जिल्लामा करिब ३० हजार जनसंख्या रहेको आफ्नो मुसहर समुदायमा शिक्षाको प्रसार गर्नु जीवनकै मुख्य उद्देश्य बनाएको मञ्जेको भनाइ छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.