गौशाला, १६ असोज । प्रदेश नं. २ अन्तर्गत हुन लागेको स्थानिय तहको तेस्रो चरणको निर्वाचनमा सहभागी हुनका लागि मनोयनपत्र दर्ता गर्ने पाँच दिन मात्रै बाँकी रहँदा पनि महोत्तरीका राजनीतिक दलहरुले आफ्नो उम्मेदवार टुँगो लगाउन सकेका छैनन् । 

उम्मेदवार छनौट प्रक्रियामा कार्यकर्तालाई गुमाउने डरले यहाँका अधिकांश राजनीतिक दल अहिलेसम्म पनि आफ्नो उम्मेदवार को भन्ने मुख खोल्न मान्दैनन् ।

यसअघि विभिन्न दुई चरणका निर्वाचनमा भाग लिइसकेका नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा (एमाले), संघीय समाजवादी फोरम लगायतका पार्टीले आ–आफ्ना पार्टी यस निर्वाचनमा पनि १ नम्बर हुने दाबी गरे पनि उनीहरुले समेत अहिलेसम्म उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।

त्यसैगरी, मधेशमा केवल राजपाले जित्ने र अरू सबै बढारिने हठबाजी गर्दै आएको राष्ट्रिय जनता पार्टी नेपालभित्र उम्मेदवार छनौटमा झन् बढी अन्यौलता देखिएको छ । महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकामध्ये कुनै पनि स्थानमा अहिलेसम्म कुनै पनि पार्टीले मेरो उम्मेदवार फलानो भन्ने टुङ्गो लगाउन सकेका छैनन् भने सबै पार्टीका प्रत्येक ठाउँ र प्रत्येक पदका लागि कम्तीमा दुई र बढीमा आठ÷१० जना पनि आकाँक्षी रहेको देखिएका छन् ।

यता आम मतदाता दलको किचलोका कारण कसलाई, कुन पार्टीको कुन छापमा मतदान गर्नेबारे अझै खुल्न नसकेको र निक्कै अलमलमा रहेका छन् । स्थानीय तहको चुनावी चर्चाले दैनिक जिल्लाको प्रत्येक गाउँ ठाउँमा नयाँ कुरा सुन्न पाएपनि कुनै पनि स्थानमा कुनै एक व्यक्तिले जित्ने वा टिकट पाउने समेत निश्चित कुरा सुन्न नपाइएको आम जनता बताउँछन् ।

त्यसैगरी, जिल्लाका कुनै पनि पार्टीका कुनै पनि नेता कुनै पनि स्थानमा निश्चित उम्मेदवारको नाम भन्न नसक्ने अवस्थामा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.