हुलाकी न्युज, काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले केही दिनदेखि परेको अविरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढीपहिरो तथा डुबानबाट थप जनधनको क्षति हुन नदिन सावधानी अपनाउँदै उद्धार र राहत कार्यमा अविलम्ब जुट्न सरकारसँग आग्रह गरेको छ । 

आयोगका प्रवक्ता मोहना अन्सारीद्वारा आज जारी प्रेस विज्ञप्तिमा जोखिममा परेका सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिको आवश्यकताअनुसार खोज, उद्धार र राहत कार्यमा लाग्न सरकार तथा सरोकार भएका पक्षलाई आग्रह गरिएको छ ।

अहिलेसम्म विपद्बाट विभिन्न जिल्लामा ६४ जनाको मृत्यु भएका, ४४ जना घाइते भएका, ३६ जना बेपत्ता भएका, करिब १९ हजार घरपरिवार विस्थापित भएका, ७२८ घर पूर्णरुपमा क्षति भएका तथा दुई हजार १५३ घर आंशिक क्षति भएकामा आयोगले गहिरो दुःख व्यक्त गरेको छ ।

हजारौँ प्रभावित व्यक्ति राहत र उद्धारको पर्खाइमा रहेको पाएको जनाउँदै आयोगले विपद् व्यवस्थापन र मानवीय सहायतामा खट्ने नेपाल सरकार, सुरक्षा निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालाई तत्काल प्रभावकारी कदम चालेर प्राकृतिक विपद्बाट प्रभावित व्यक्तिको उद्धार र राहत कार्य तत्काल जुट्न विशेष आग्रह गरेको छ ।

प्राकृतिक विपद्पछि देखापर्नसक्ने सरुवा रोगको प्रकोप तथा महामारीबाट बच्न चिकित्सकको अस्थायी टोलीको तत्काल व्यवस्था गर्न र बाढीपहिराका कारण आउनसक्ने खतराबारे नियमितरूपमा नागरिकलाई सूचना प्रवाह गर्न पनि आयोगले सरकारको ध्यान आकृष्ट गरेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.