हुलाकी न्युज, राजविराज । मानवअधिकार तथा दलित आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउनुभएका सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का ५३ वर्षीय युक्तिलाल मरिक डोमलाई वैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०७४ बाट सम्मान गरिएको छ ।

यहाँ सोमबार आयोजित अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा ‘२१ औँ प्रकाश मानवअधिकार पुरस्कार’ कार्यक्रममा मरिकलाई डोम जातिको मुक्तिको आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएबापत पुरस्कारस्वरुप रु तीन हजार १०५ प्रदान गरियो । दुई दशकदेखि गरिब, असहाय, दलित, महिला, अल्पसंख्यक र भूमिहीनको उत्पीडनविरुद्ध सक्रिय मरिक दलितमा सबैभन्दा पछाडि पारिएको डोम जातिको आन्दोलनको अभिन्न अंगका रुपमा स्थापित छन् ।

डोम उत्थान समाजका राष्ट्रिय अध्यक्ष स्नातक उत्तीर्ण डोम विसं २०५६ देखि डोम जातिको भूमि तथा कृषि अधिकार, दलित सशक्तीकरण र सिनो बहिष्कार आन्दोलन, जातीय छूवाछूत र घर उठीबासविरुद्धको अभियानका साथै सप्तरी, सिरहा र सुनसरीका विभिन्न मन्दिर र होटलमा डोम समुदायको प्रवेश खुल्ला गराउन निरन्तर क्रियाशील छन् ।

डोमलाई इन्सेक पूर्वाञ्चल संयोजक सोमराज थापाले कदरपत्र, प्रजिअ कृष्णबहादुर कटुवालले दोसल्ला र कोषका अध्यक्ष वैद्यनाथ झाले नगद पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, राजविराज लायन्स क्लबका अध्यक्ष शंकर शारडा, ज्येष्ठ नागरिक संघ सप्तरीका अध्यक्ष शिवहरि भट्टराई, पूर्व कर्मचारी सेवा परिषद्का अध्यक्ष रामनरेश सिंह, पत्रकार अनिलकुमार अनललगायतले विभेदको अन्त्य गर्न मानवअधिकार अभियानलाई निरन्तर जारी राख्नुपर्ने बताउनुभयो ।

राजविराज नगरपालिका–७ का वैद्यनाथ झाले रु ५० हजारबाट स्थापना गरेको सो पुरस्कार २०७३ सालदेखि प्रत्येक वर्ष मानवअधिकार तथा नागारिक आन्दोलनका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वलाई प्रदान गरिन्छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.