
हुलाकी न्यूज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्णायक वार्ताका लागि शीर्ष नेतालाई काठमाडौं बोलाउन मधेशी मोर्चा दोस्रो तहका नेतालाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार स्थानीय चुनावअघि संविधान संशोधन प्रस्ताव टुंगो लगाउन समय घर्किदै गएको भन्दै दाहालले तमलोपा अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवलाई झिकाउन आग्रह गरेका हुन् ।
उनले बिहीबार साँझ माओवादी केन्द्रको हेडक्वार्टर बैठक राख्दै मोर्चासग सहमतिका लागि हाल संसदमा अनिर्णित रहेको संविधान संशोधन विधेयक फिर्ता लिएर परिमार्जन सहित अर्को विधेयक तुरुन्तै अघि बढाउदै अब राजनीतिक निकास दिने बताए ।
‘प्रधानमन्त्रीले पुरानो विधेयकलाई नै संशोधन गर्न लाग्दा अनावश्यक झमेला हुने भएकाले मोर्चासग सहमतिका आधारमा तयार परिएको ड्राफ्ट नै नया विधेयकका रुपमा पेश गर्नु उचित हुने निष्कर्षमा आफू पुगेको बताउनुभयो,’ माओवादी हेडक्वार्टर स्रोतले भन्यो, ‘हामीले त्यसो गर्दा सहमति हुन्छ र मोर्चा चुनावमा आउने वातावरण बन्छ भने अघि बढ्न सरकारलाई सुझाव दियौं ।’
पार्टी प्रवक्ता पम्फा भूसालले उक्त भनाई पुष्टि गर्दै सीमांकन संघीय आयोगमार्फत् टुंग्याउन, संविधानको धारा २७४ संशोधन गर्नका लागि नया विधेयक संसदमा लैजान सरकारलाई आग्रह गर्ने निर्णय गरेको जानकारी दिइन् ।
‘मधेशमा स्थानीय तहको संख्या जनसंख्याको आधारमा बढाउन पार्टी सकारात्मक रहेको निर्णय गरियो, राष्ट्रिय सभाको निर्वाचक मण्डलबाट स्थानीय तहका प्रमुख र उपप्रमुख हटाउन मोर्चाबाट आग्रह भएकाले त्यसमा पनि पार्टीले समर्थन जाहेर र्गयो,’ उनले भनिन, ‘अब यसैका आधारमा नया संशोधन ल्याएर सहमति खोज्न सरकारलाई आग्रह गरेका छौं ।’ कान्तिपुर दैनिकमा समाचार छ ।



