हुलाकी न्यूज, जनकपुरधाम । स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुले मधेशका विभिन्न जिल्लाको जिल्ला प्रशासन कार्यालयमा धर्ना दिदा दर्जनौं कार्यकर्ताहरु पक्राउ परेका छन् । दुई महिनादेखि प्रहरी हिरासतमा रहेका गठबन्धनका संयोजक डा.सीके राउतको रिहाइको माग गर्दै सोमबार गठबन्धनका कार्यकर्ताहरुले प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।
गठबन्धनका प्रवक्ता अब्दुल खानले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार सिरहाबाट १० जना र धनुषाबाट दुई जना पक्राउ परेका छन् । उनका अनुसार मोरङबाट पक्राउ परेका १० जनालाई अबेर साँझ प्रहरीले रिहा गरेको छ ।
धनुषाबाट रामशंकर महासेठ र विवेक कर्ण पक्राउ परेका छन् भने सिरहाबाट मनोज यादव, कपिल यादव, सत्या महतो, मदनकृष्ण यादव, जितन यादव, पंकज सिंह र दिपेन्द्र यादवलगायतका पक्राउ परेका छन् ।
यसैगरी पूर्वी मधेशको झापादेखि पश्चिम कञ्चनपुरसम्मका सम्पूर्ण जिल्लामा एकै साथ पहिलो पटक धर्ना दिइएको हो ।
अधिकांश जिल्लामा प्रशासन कार्यालय अगाडि दिइएको छ भने कतिपय जिल्लामा गाउँको विभिन्न चौक चौराहामा धर्ना दिइएको गठबन्धनले जनाएको छ ।






