हुलाकी न्यूज, काठमाडौं १ चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई दिएको एकहप्ते ‘अल्टिमेटम’ विनानिष्कर्ष आज सकिदैछ । यो एकसाता सत्तारुढ दलले मधेशी मोर्चालाई मनाउनमा समय खर्चेको छ भने प्रधानमन्त्रीले सरकार विस्तार गरेको छ ।

मधेशी मोर्चाको समर्थन कायम राख्न सरकारले घनिभुत प्रयास गरिरहेको कानुन मन्त्री अजय शंकर नायकले बताउनु भयो । हुलाकी न्यूजसँग कुराकानी गर्दै मन्त्री नायकले भन्नु भयो,‘मधेशी मोर्चाको माग पुरा गराउनकै लागि सरकार विस्तार गरिएको छ । कमल जी(कमल थापा) सरकारमा सहभागी भइसक्नु भएको छ । हाम्रा केही साथीले मन्त्रालय छोडे पछि विजय गच्छदार जी पनि सहभागी हुनुहुनेछ । प्रधानमन्त्रीले अन्य साना दलहरुसँग पनि कुराकानी गरिराख्नु भएको छ ।’

तर सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारको तर्फबाट मधेशी मोर्चाको माग सम्बोधन नभएको भन्दै समर्थन फिर्ता हुने बताउनु भयो । हुलाकी न्यूजसँग भन्नु भयो,‘सरकारले के गर्यो के गरेन, त्यो हाम्रो सरोकारको विषय होइन । हाम्रो सरोकारको विषय हाम्रो माग हो । परिमार्जनसहित संविधान संशोधन, निर्वाचन स्थगत र तीन बुँदे सहमति कार्यन्वयन ।’

मन्त्री नायकले मधेशी मोर्चाले हठ गरेर समर्थन फिर्ता लिए प्रतिपक्षीलाई बल पुग्ने बताउनु भयो । उहाँले भन्नु भयो,‘हामी फेरी पनि आग्रह गर्दछौं, समर्थन फिर्ता नलिनुस् ।’

संविधान संशोधन पारित हुने वातावरण नबनेसम्म संसदमा पेस गर्न कठिन भएको मन्त्री नायकले बताउनु भयो । उहाँले संशोधन पारित हुने वातावरण बनेपछि मात्र संशोधन अगाडि बढ्ने बताउँदै फेल भए सरकारमाथि आच आउन सक्ने बताउनु भयो । निर्वाचन स्थगनका विषयमा कुनै छलफल हुन नसकेको उहाँले जानकारी गराउनु भयो ।

आन्दोलन घोषणा गर्दै मधेशी मोर्चा

सरकारलाई दिएको अल्टिमेटम आज सकिदैछ, आजै नै मधेशी मोर्चाको सचिवालय बैठक बस्दैछ । अल्टिमेटम सकिए पछि के गर्ने भन्ने विषयमा सचिवालय बैठकमा छलफल हुनेछ ।

सचिवलाय बैठक पछि बुधबार मधेशी मोर्चाको बैठक बस्नेछ । रामसपाका महासचिव केशव झाका अनुसार बुधबार बस्ने मोर्चाको बैठकले आन्दोलनका बारे छिनोफानो गर्नेछ । उहाँका अनुसार मधेशी मोर्चाका आगामी रणनीतिका बारे र सरकारको तर्फबाट भइरहेको प्रयासका बारे बैठकमा छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.