
हुलाकी न्यूज, राजविराज २८ फागुन । सशस्त्र प्रहरीले हत्या गरेका पाँच जना सहिदको शव यात्रा राजविराजबाट सुरु भएको छ ।
वर्षका कारण प्रभावित भएको शव यात्रा दिउँसो १२ बजे पछि सुरु भएको हो । शव यात्रामा सुनसरी, सप्तरी, सिरहा र धनुषाका हजारौं सर्वसाधारणको सहभागिता रहेको छ ।
शव यात्रामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु पनि सहभागी भएका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झासहितका नेताहरु शव यात्रामा सहभागी भएका छन् ।
राजविराजबाट निकालिएको शव यात्रा हुनमाननगर–भारदह–कञ्चनपुर–फत्तेपुर र रुपनी हुँदै सिरहाको लाहानसम्म पुग्नेछ । लाहानमा कार्यक्रम गरी पुनः शवलाई परिवारजनको जिम्मा लगाइनेछ । शनिबार साँझ नै सहिदहरुको दाहासंस्कार गरिने जनाइएको छ ।
नेकपा एमालेको मेची–महाकाली अभियान सफल बनाउने क्रममा सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र नजिक सशस्त्र प्रहरीले गोली हानी पाँच जना मधेशी प्रदर्शनकारीको हत्या गरेको थियो ।
सप्तरी घटनामा मलेठ–२ बस्ने २५ वर्षीय सञ्जन मेहता, मलेठ–४ का ५० वर्षीय पीताम्बर मण्डल, मलेठ–४ का वीरेन्द्र महतो, प्रसवनी–४ टेङ्गरी घर भएका ३५ वर्षीय सिनियर अहेव आनन्दकुमार साह र जमुनी मधेपुरा गाविस वडा नम्वर–१ कौटवी गाउँ निवासी ५० वर्षिय ईनरदेव यादव को हत्या भएको हो ।






