
हुलाकी न्यूज, काठमाडौं १६ पुस । सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक पुस १८ गते सोमबार सदनमा टेबुल (पेस) गर्ने सहमति भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलबाट उक्त सहमति भएको हो ।
बैठकमा सहभागी तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृषेश चन्द्र लालले सोमबार संशोधन विधेयक टेबुल गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले व्यक्त गरेको बताएका छन् । हुलाकी न्यूजसँग लालले भने,‘संशोधन विधेयक टेबुल गर्ने सहमति भएको छ । सँगै निर्वाचन विधेयक पनि पेस हुनेछ ।’
संशोधन विधेयक पारित गरेर मात्र निर्वाचन विधेयक अगाडि बढ्ने सहमति भएको तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले हुलाकी न्यूजलाई बताए । यादवले परिमार्जनसहित संशोधन विधेयक पेस गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले गरेको जनाए ।
यता १८ गते दुई/तीन पटक संसद बैठक बस्ने तयारी सभामुखले गरेकी छन् । काँग्रेसले पनि १८ गते संशोधन विधेयक पेस गर्ने सहमति जनाइसकेको छ ।



