congress_morcha_meeting
हुलाकी न्यूज, काठमाडौं १६ पुस । सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक पारित गराउने सहमति सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच भएको छ । संशोधन विधेयक परिमार्जनसहित संसदमा पेस गर्ने सहमति भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित नौं दललाई पेलेरै भएपनि संशोधन विधेयक सदनमा पेस गर्ने सहमति काँग्रेस र मोर्चाबीच भएको छ । सत्तारुढ घटकले प्रतिपक्षीलाई पेलेरै जाने तयारी अनुसार पुस १८ गतेको संसद बैठकमा संशोधन विधेयक टेबुल गर्ने सम्भावना बढेको छ ।

सिंहदरबारस्थित नेपाली काँग्रेसको संसदीय दलमा शुक्रबार साँझ काँग्रेस र मोर्चाका शिर्ष नेताहरुबीच भएको छलफलमा संशोधन विधेयक पेस गर्ने र पास गराउने सहमति भएको मोर्चाका नेता महेन्द्र राय यादवले हुलाकी न्यूजलाई बताए । ‘संविधान संशोधन विधेयक सदनमा पेस गर्ने प्रतिवद्धता देउवाले व्यक्त गर्नु भएको छ’ यादवले भने,‘विधेयकमा केही हेरफेर गरेर पेस गर्ने सहमति भएको छ । विधेयक पास गर्ने गरी सदनमा पेस हुनेछ ।’

काँग्रेस सभापति शेरबहादुर देउवालाई उधृत गर्दै यादवले भने,‘तपाईहरु ढुक्क भएर सहयोग गर्नुस् । काँग्रेसले जसरी भएपनि संविधान संशोधन विधेयक पास गराउने छ । प्रमुख प्रतिपक्षी दलसँग पनि छलफल भइरहेको छ । उहाँहरु पनि संसदीय प्रक्रिया मै आउनु पर्छ । बरु तपाईहरु प्रधानमन्त्रीसँग पनि छलफल गर्नुस् ।’

देउवाले संविधान संशोधन विधेयक पास गराएर मात्रै निर्वाचनमा जाने बताउँदै निर्वाचन विधेयक पनि सँगै लगिने बैठकमा जानकारी गराएका थिए । संशोधनको विषयमा काँग्रेस एक ढिक्का रहेको दाबी गर्दै देउवाले नेकपा माओवादी केन्द्रसँग पनि छलफल गर्न मधेशी मोर्चालाई आग्रह गरेको बैठकमा सहभागी सद्भावना पार्टीका महासचिव मनिष समुनले बताए ।

बैठकमा स्थानीय तहको विषयमा पनि छलफल भएको बताउँदै अहिलेको प्रतिवेदन एमाले अनुसार भएको देउवाले दाबी गरेको समुनले बताए । अहिलेको प्रतिवेदन स्वीकार गर्न सकिने अवस्थाको नरहेको देउवाको भनाइरहेको सुमनले सुनाए ।

यता हुलाकी न्यूजसँग संक्षिप्त प्रतिक्रिया दिदै तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संशोधन विधेयक पास गराउने कि फेल गराउने भन्ने प्रमुख जिम्मेबारी नेपाली काँग्रेसको काँधमा रहेको बताएका छन् । उनले संशोधन विधेयक फेल भएको खण्डमा मोर्चा पुनः आन्दोलन गर्न बाध्य हुने प्रतिक्रिया दिए ।

फाईल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.