
हुलाकी न्यूज, काठमाडौं २० भदौ । नेकपा एमालेका संसदले टीकापुर विद्रोह पश्चात पक्राउ परेका थारुहरुलाई रिहा गर्न नहुने बताएपछि मधेशी मोर्चासहित मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का संसदहरु आक्रोसित बनेका छन् ।
व्यवस्थापिका संसदको शून्य समयमा एमालेका संसद हर्कबोल राईले टिकापुर घटना पश्चात पक्राउ परेका थारुहरुलाई सरकारले रिहा गर्न खोजेको भन्दै आपत्ति जनाएका थिए । राईले पक्राउ परेका थारुहरुलाई हदैसम्मको कारवाहीको माग गरेपछि मधेशी मोर्चासहित फोरम लोकतान्त्रिकका संसदहरु आक्रोसित बनेका थिए ।
फोरम लोकतान्त्रिकका संसद योगेन्द्र चौधरीले अदालतमा विचारधिन मुद्दामा जघन्य अपराध भन्न नमिल्ने भन्दै आपत्ति जनाएका थिए । चौधरीले राईको भनाई संसद रेकर्डबाट हटाउन मागसमेत गरे ।
एमाले र मधेशी दलका संसदहरु बाझ्न थाले पछि सभामुखले हस्तक्षेप गर्नु परेको थियो । सभामुखले यस विषयलाई अगाडि नबढाउन आग्रह गरेका थिए ।
तस्बिर : टीकापुर घटना पश्चात गैरथारुहरुले थारुहरुको घर तथा पसलमा आगो लगाउँदै ।



