
हुलाकी न्यूज, काठमाडौं १९ भदौ । यही कार्तिक दुई गतेबाट हुन लागेको मधेश प्रिमियर लिग(एमपीएल)को दोस्रो सिजनलाई विश्वभरीका मधेशीहरुको छाता संगठन गैरअवासीय मधेशी संघ(एनआरएमए)ले सहयोग गर्ने भएको छ ।
एनआरएमएका कार्यवाहक अध्यक्ष बसन्त कुशवाहाले हुलाकी न्यूजसँग कुराकानी गर्दै एमपीएल दोस्रो सिजनलाई एनआरएमएले सहयोग गर्ने बताएका छन् ।
कुशवाहाले भने,‘मधेशमा खेललाई व्यवसायिक बनाउन तथा खेलाडीहरुको प्रोत्साहनका लागि मधेशी इन्जिनियरिङ्ग स्टुडेन्ट युनियनले आयोजना गर्न लागेको मधेश प्रिमियर लिगको दोस्रो सिजनलाई गैरआवासीय मधेशी संघले सहयोग गर्ने गर्दैछ । हाम्रो सानो सहयोगले मधेशका क्रिकेटरहरुको भविष्य बनोस र दर्शकहरुले पनि आनन्द पाओस् भन्ने चाहना रहेको छ ।’
त्यस्तै, एमपीएल दोस्रो सिजनको अफिसियल ब्रोडकाष्टरको रुपमा हुलाकी न्यूज डटकम www.hulakinews.com रहने भएको छ ।
खेल तथा खेलाडी र टिमहरुका बारे सम्पूर्ण जानकारी हुलाकी न्यूजले एकपछि अर्को गरी प्रकाशित गर्नेछ ।



