
हुलाकी न्यूज, काठमाडौं १८ भदौ । भारतमा शरणार्थी जीवन विताई रहेका थारु अगुवा नेता एवं सदभावना पार्टीका सचिव रेशम चौधरीलगायतकाहरु चन्दा संकलन गरेर गुजारा गरिरहेका छन् ।
केही दिन यता नेता चौधरीको स्वास्थ्य अवस्था पनि विग्रिएको उनले बताएका छन् । हुलाकी न्यूजसँग कुराकानी गर्दै नेता चौधरीले आफुहरुको आर्थिक अवस्था निकै कमजोर रहेकोले साथीभाईसँग चन्दा संकलन गरेर गुजारा गर्नु पर्ने अवस्था आएको बताएका छन् ।
चौधरीले भने,‘मेरो सम्पूर्ण सम्पति जलाइएको छ । मेरो रिसोर्टबाट दुई छाक खान पुग्थ्यो त्यो पनि जलाइएको छ । एफएम पनि जलाइएको छ । अहिले लाखौंको ऋण छ । भारतमा शरणार्थी जीवन विताउँदै छु । खान पिउने ठेगान पनि छैन । केहिले काँही मागेर खान बाध्य छु ।’
स्वास्थ्य अवस्था विग्रिदै गएको बताउँदै चौधरीले भने,‘प्रेसर, सुगर र युरिक एसिड पनि निकै बढेको छ । अन्य कयौं रोगहरुले सताउँदैछ । थला परुला जस्तो हुँदैछ ।’
चौधरीका अनुसार जलाइएको सम्पतिको क्षतिपुर्ति पनि नपाएकोले ऋणको ब्याज तिर्न सकिएको छैन । अहिलेसम्म मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएपनि ठोस कुरा नआएको भन्दै नेता चौधरीले मोर्चासँग छिटोभन्दा छिटो छिनोफानो गर्न आग्रह गरेका छन् ।
नेता चौधरीमाथि नेपाल प्रहरीले टीकापुर घटनाको मुख्य योजनाकारको अभियोग लगाएको छ ।



