
हुलाकी न्यूज, विराटनगर १६ भदौ । वर्तमान सरकारले संविधान संशोधन नगरे अर्को राष्ट्रिय आन्दोलन गर्ने चेतावनी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दिएका छन् । यादवले अहिलेको सरकारले पनि ढिलाई गरिरहेको दाबी गरे ।
संविधानमा संशोधनको प्रक्रिया अविलम्ब अगाडि बढाउनुपर्ने बताउँदै यादवले ढिलाई गरे मधेशी जनताहरु पुनः आन्दोलन गर्न बाध्य हुने जनाए ।
फोरम नेपालले मोरङको विराटनगरमा बिहीबार गरेको मुलुकको वर्तमान राजनीतिक परिवेश तथा पार्टी प्रवेश कार्यक्रममा उनले संविधानमा संशोधन गर्नकै लागि वर्तमान सरकारको जन्म भएको दाबी गरेका हुन् । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेका छन् ।
राष्ट्रिय समाचार समितिका अनुसार यादवले संविधान संशोधनका लागि विधेयक तयार नहुनु र संसदमा प्रवेश नभएकाले आशंका हुनु स्वाभाविक भएको बताए । संविधान संशोधनको विषयमा चारैतिर अन्योलको अवस्था देखिएकाले चिन्ता हुनु स्वाभाविक भएको भन्दै उनले सरकारले ढिलाइ गरेमा अर्को राष्ट्रिय आन्दोलन हुने चेतावनी दिए ।
प्रधानमन्त्री दाहालको भ्रमणलाई संविधान संशोधनको विषयसँग जोड्न नहुने यादवले बताए । उनले भने,‘संविधान संशोधनको विषय आन्तरिक भएकाले सबै मिलेर नै यस समस्यालाई समाधान गर्नुपर्छ ।’



