
हुलाकी न्यूज, जनकपुरधाम १५ भदौ । जानकी मन्दिरका अबैद्ध महन्थ रामतपेश्वर दासले गरेको अनियमितताका बारे विभिन्न चरणमा विरोध गर्दै आएका जनकपुरका युवा सुशील कर्णमाथि सांघातिक आक्रमण भएको आरोप लगाइएको छ ।
बुधबार राती ९ बजे मोटरसाईकलमा सवार दुई जना युवाले कर्णमाथि जनकपुरधामको पुलचौकभन्दा करिब डेढ किलोमिटर पूर्वमा आक्रमण गरेका छन् ।
कर्णसँगै मोटरसाईकलमा सबार संतोष यादव पनि घाइते भएका छन् । उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार पछि जनकपुर–१० देबी चौकस्थित घरमा पठाइएको छ ।
हुलाकी न्यूजसँग कुराकानी गर्दै कर्णले भने,‘जनकपुरभन्दा पूर्व रहेको हसपुरबाट फर्किने क्रममा राती अध्यारोको समयमा सडक छेउमा मलाई पर्खिदै गरेका युवाहरुले मेरो मोटरसाईकल रोकाउन खोजे । मैले मोटरसाईकल नरोके पछि फलामको रड जस्तो सामान फाले । मेरो मोटरसाईकल भुईमा लड्यो । उनीहरु नजिकमा आएर गाली गर्दै भने ‘तैले जानकी मन्दिरको विरोध गर्दैमा केही विग्रिदैन ।’ र, अभद्र खालका गालीहरु गर्दै थिए । पछाडिबाट साथीहरुको मोटरसाईकल आउन थाले पछि उनीहरु भागे ।’
आफुमाथि जानकी मन्दिरकै महन्थले आक्रमण गराएको दाबी गरेका कर्णले निश्पक्ष छानविन र दोषी उपर कारवाहीको माग गरे ।
आजैसाँझ ७ बजे जनकपुरधामबाट प्रशारण हुने तराई–लोकतान्त्रिक पार्टीका संसद डा.विजय सिंहको जानकी एफएममा कर्णले जानकी मन्दिरका विषयमा अन्तरवार्ता दिएको बताए ।
जानकी मन्दिरका अबैद्ध महन्थ रामतपेश्वर दासले एउटै पोखरी माछा पालनका लागि एकै समयमा दुई जना ठेक्केदारलाई दिएका छन् । सो विषयमा पनि कर्णले विरोध गर्दै आएका छन् ।
पछिल्लो समय जानकी मन्दिरको विद्युत काटिएको विषयमा पनि उनीहरुले विरोध गर्दै आएका थिए ।
महन्थ दासको विरोध गरेको भन्दै वरिष्ठ पत्रकार राजेश्वर नेपालीका छोरा रविन्द्र साह र तत्कालिन नेकपा माओवादी युवा नेता राकेश नेपालीको हत्या गराइएको आरोप महन्थमाथि लाग्दै आएको छ । त्यस्तै, जनकी मन्दिरको गजुर र जग्गा विक्रीको विरोध गरेका पत्रकार मनोज साहमाथि पनि महन्थ दासले नै आक्रमण गराएको आरोप साहले लगाउँदै आएका छन् ।
यता कर्णमाथि भएको आक्रमणका विषयमा जानकारी आउन बाँकी रहेको धनुषा प्रहरीले जनाएको छ ।



