
हुलाकी न्यूज, काठमाडौं १३ भदौ । तराई–मधेश लोकतान्त्रिक पार्टीले दोस्रो पटक पदाधिकारी चयन गरेको छ । महाधिवेशनपश्चात् पदाधिकारी चयनको जिम्मेवारी दिइएको अध्यक्ष महन्थ ठाकुरले सोमबार दोस्रो पटक चार जना पदाधिकारी चयन गरेका छन् ।
दोस्रो पटकमा महामन्त्री पदमा जितेन्द्र सोनललाई चयन गरिएको छ भने सहमहामन्त्रीमा पशुपति दयाल मिश्र, सहकोषाध्यक्षमा कविन्द्रनाथ ठाकुर र सहप्रवक्तामा कृष्णा सिंहलाई चयन गरिएको छ ।
महाधिवेशनअघि पनि सोनल महामन्त्री रहेकोले र अहिलेका महामन्त्रीहरुमध्ये वरिष्ठ रहेकोले उनी तीनजना महामन्त्रीमध्ये प्रथम वरियताको रहने तमलोपा स्रोतले जनाएको छ ।

यसअघि महामन्त्री पदमा वृजेश गुप्ता र जंगीलाल राय मनोनित भइसकेका छन् ।
त्यस्तै, मिश्र र ठाकुर पहिलोपटक पार्टीको पदाधिकारीमा चयन भएका छन् ।
यसैगरी, तराई–मधेश युवा फ्रन्टको अध्यक्ष पद सम्हाल्दै आएका युवा नेता कृष्णा सिंहलाई सहप्रवक्तामा मनोनयन गरिएको छ ।



