प्रदिप यादव, रौतहट, १ आश्विन । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) सभासद् मुस्ताक आलमले मधेशीको लासमाथि निर्माण गरिएको संविधान र त्यो संविधानको सुशीयाली मनाउनेलाई पनि जलाउने चेतावनी दिएका छन् । बन्दुकको भरमा निर्माण भएको संविधान जारी भएको १५ मिनेट भित्रै जलाइएने उनले बताएका छन् ।
गृह जिल्ला रौतहटको मठिआ महुलिआमा आयोजित राजकिशोर ठाकुरको श्रदाञ्जली सभामा प्रमुख अतिथिको रुपमा बोल्दैं उनले चार दर्जन बढी मधेशीको हत्या गरेका सरकारले बल पूर्वक निमार्ण गर्न लागेको संविधानको अवसरमा खुशियाली मनाउनेहरुलाई पनि जलाउने चेतावनीसमेत दिए ।
उनले प्रधानमन्त्री सुशील कोईराला र तीन दलको प्रस्तावित अगामी प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै भने,‘निपुत्रेहरुको अगुवाईमा निमार्णमा हुन लागेको संविधानको आयु मात्र ३ महिना मात्र रहने छ ।
देशको पचास प्रतिशतको हाराहारीमा रहेका मधेशी जनताको छोराहरुलाई निर्मम हत्या गरेर मधेशीको लाशमाथि ठड्याउन लागेको संविधानलाई मधेश र मधेशीलाई कुनै हालतमा मान्य नहुने सभासद् आलमले बताएका छन् ।
सिमांकन, समानुपातिक समावेशी, अन्तरिम संविधान अनुसार निर्वाचन क्षेत्र कायम र स्थानीय भाषाले मान्यतालगायतका मांग संविधानमा समावेश नभएसम्म मधेश आन्दोलन जारी रहने उनले जनाएका छन् । मधेशको जायज मांग विपरीत पार्टी अध्यक्ष बिजय कुमार गच्छदारले सरकारसँग सहमति गरेमा आफुले पार्टीको कुनै व्हीप नमाने उद्घोष गरेका छन् ।
जारी मधेश आन्दोलनको क्रममा गत ८ गते प्रहरीले चलाएको गोलीबाट मृत्यु भएका २० वर्षिया राजकिशोर ठाकुरको सम्झनामा मठिआस्थित उनकै नामले प्रवेशद्धार निर्माण गर्ने सभासद् आलमले प्रतिबधता व्यक्त गरे । स्वर्गिय ठाकुरको पिता महेन्द्र ठाकुरको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभामा जिल्लाका हजारौ मानिसको सहभागिता रहेको थियो ।



