
रबिन्द्र प्रताप गुप्ता, भैरहवा १३ भदौ । नेपाल कृषि प्रधान मुलुक भए तापनि कृषिमा आत्मनिर्भर बन्न नसकेकोले अब बैंकहरुले कृषि क्षेत्रमा लगानी बढाउनु पर्ने आवश्यक्ता रहेको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालले बताएका छन् ।
रुपन्देहीको सदरमुकाम भैरहवामा एनएमबी बैंकको ७१ औं शाखाको उद्घाटन समारोहमा बोल्दै नेपालले यस्तो बताएका हुन् ।
“हामी सानो सानो चिजमा पनि भारतको भर पर्ने गर्दछौं । अब किसानहरुले व्यवसायीक रुपमा नै पशुपालन तथा कृषि व्यवसाय गर्न बैंक तथा वित्तिय संस्थाको सहयोगमा ऋण लिएर व्यवसाय गर्नु पर्छ । बैंकले पनि किसानलाई सहुलियत ऋणमा सेवा प्रदान गर्नु पर्दछ ।” नेपालले भने ।
उद्घाटन कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष रोमणी प्रसाद पाठकको अध्यक्षता, नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जिबी नेपालको प्रमुख आतिथ्यता, प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष राम कुमार शर्मा, स्थानीय उद्योगी, व्यापारी, पत्रकार र बैंकका सञ्चालकहरु लगायतको उपस्थिति रहेको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलको स्वागत मन्तव्य तथा प्रमोद दाहालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



