Home_ministry_nepal
हुलाकी न्यूज, काठमाडौं १२ भदौ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले मधेश–थरुहट आन्दोलनका सम्पूर्ण मुद्दा फिर्ता लिने आश्वासन दिएका छन् ।

मुद्दा फिर्ताका सन्दर्भमा सोमबार कानून मन्त्रालयका सचिव र महान्यायाधिवक्तालगायतसँग छलफल गरेर मुद्दा फिर्ता प्रक्रिया अगाडि बढाउने गृहमन्त्री निधि बताएका छन् ।

आइतबार दिउँसो संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका प्रतिनिधि र मन्त्री निधिबीच भएको भेटवार्तामा निधिले भने, ‘मधेश आन्दोलनको क्रममा लगाइएका सम्पूर्ण मुद्दाहरु फिर्ता लिने छौं । अहिले केही ढिलाइ भएपनि हामी सम्पूर्ण प्रक्रिया मिलाउँदैछौं । कतिपय मुद्दा अदालतमा गइसकेकोले त्यस विषयमा पनि छलफल गर्दैछौं ।’

मोर्चाका तर्फबाट भेटवार्तामा सहभागी भएका संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष तथा सांसद मो. लालबाबु राउत गद्दीले हुलाकी न्यूजसँग कुराकानी गर्दै भने, ‘सरकार मुद्दा फिर्ता तथा बाँकी रहेका शहीदहरुको घोषणाका विषयमा सकारात्मक छ । गृहमन्त्रीसँग आज भएको कुराकानीमा केही दिनमै प्रक्रिया पूरा गरेर मुद्दा फिर्ता लिने आश्वासन दिनुभएको छ ।’

उनले थपे, ‘हाम्रा माग पूरा गर्ने विषयमा सरकार आन्तरिक गृहकार्य गर्दैछ । निधिजीसँगको भेटबाट वर्तमान सरकार माग पूरा गर्न सकारात्मक रहेको देखिन्छ ।’

आइतबारको भेटवार्तामा मोर्चाको तर्फबाट राउतसहित सद्भावना पार्टीका महासचिव मनिष सुमन, तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय, तराई–मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेश चन्द्र लाल र थारु नेता भानुराम चौधरी सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.