
हुलाकी न्यूज, धनुषा १० भदौ । करिब साताभन्दा बढी समय बाँकी रहँदै नेपाली महिलाहरुलाई तीज पर्वले छपक्कै छोपिसकेको छ ।
हातभरि चुरा, लामो पोते र रङ्गीचङ्गी साडीमा साथीसंगीहरु माझ महेन्द्रनगरमा छम्छमी नाँचेका छन् ।
शुक्रबार राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको आयोजनामा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत महेन्द्रनगरमा तीज विशेष कार्यक्रममा उपस्थित महिलाहरुलाई तीज आउन एक साता बाँकी भए पनि तीजको गीत र पहिरनले उनीहरुलाई छोपिसकेको छ ।
महेन्द्रनगरको मुख्य बजार क्षेत्र अर्थात सखुवा चोक र हनुमान चोकको बिचमा सौन्दर्यकर्मी युनियनका महिलाहरुद्धारा आयोजित कार्यक्रममा तिजका विविध मनोरञ्जनात्मक गित संगितमा नृत्य प्रदर्शन गर्न उपस्थित दर्शकहरुलाई रुझाउन सफल भएका थिए ।
नेपाली महिलाहरुले स्वतन्त्र पर्वको रुपमा पनि तीजलाई लिने गर्छन । सबै समुदायमा एकता, भातृत्व र सामुहिकताको भावना जागृत गराउँन पनि तीज विशेष कार्यक्रमको आयोजना गरिएको युनियन नेपालका पदाधिकारी संतोषी ठाकुरले जानकारी दिए ।
युनियनद्धारा आयोजित कार्यक्रममा विभिन्न संघसंस्था तथा विभिन्न व्यक्तिहरुले सहयोग गरेका थिए ।



