
हुलाकी न्यूज, महोत्तरी ९ भदौ । दशकौंदेखि जीर्ण रहेको भिठामोड मुख्य भन्सार नाका जोड्ने मूल सडकको रुपमा रहेको जनकपुर–भिठामोड (विद्यापति राजमार्ग) सडक निर्माणका लागि चरणबद्ध आन्दोलनको घोषणा गरिएको छ ।
महोत्तरी र धनुषाका राजनीतिक दलहरुको सदरमुकाम जलेश्वरमा बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले सडक निर्माणका लागि तीन चरणको आन्दोलनको घोषणा गरेको छ ।
विद्यापति राजमार्ग भनेर चिनिने जनकपुर–भिट्ठामोड सडक निर्माण सम्बन्धमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्द्वारा आयोजित सर्वपक्षीय र सर्वदलीय अन्तरक्रिया कार्यक्रमबाट तीन चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिएको हो ।
यसक्षेत्रमा धार्मिक मठ, मन्दिरको जिर्णोद्वार, निर्माण र त्यसको संरक्षणमा काम गर्दै आएका बृहत्तर जनकपुर विकास क्षेत्रले यसरी सडक विकासको क्षेत्रमा पहिलोपल्ट सार्वजनिक सर्वपक्षीय कार्यक्रम आयोजना गरेको हो ।
भदौ १२ गते आइतवार महोत्तरी र धनुषा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने, भदौ १३ गतेदेखि १९ गतेसम्म सडक तथा सडक छेउका गाउँमा प्रचारप्रसारसहित पम्पलेटिङ, कोणसभा, माइकिङ गरी हरेक चोकमा सर्वपक्षीय संघर्ष समिति निर्माण गर्ने, भदौ २० देखि २४ गतेसम्म पाँच दिन विभिन्न चौकमा रिले धर्ना दिने र भाद्र २५ र २६ गते जनकपुर–भिट्ठामोड सडकमा पूर्णरुपमा यातायात ठप्प पार्ने र भाद्र २७ गते जनकपुरदेखि भिट्ठामोडसम्म मानव कडी निर्माण गर्ने कार्यक्रम घोषणा गरिएको छ ।
आन्दोलनका यी कार्यक्रमहरु पश्चात् पनि सरकारले सडक निर्माणका लागि चाँसो नदेखाए जनकपुर–भिट्ठामोड सडकको मध्यमा पर्ने पिपरामा आमरण अनसनको कार्यक्रम गर्ने तय भएको एक नेताले बताए ।



