Gaobargadha-3
हुलाकी न्यूज, राजविराज ८ भदौ ।
सप्तरीको गोबरगाढामा तीन दिनदेखि प्रसव व्यथाले छटपटाईरहेकी झुना देवी यादवका बारे हुलाकी न्यूज र न्यूजटुडेमा बुधबार विहान समाचार प्रकाशित भएपछि दिउँसो उनको उद्धार भएको छ ।

राजविराजबाट प्रकाशित न्यूज टुडेका सम्पादक तथा मधेशी पत्रकार संघका सप्तरीका अध्यक्ष श्यामसुन्दर यादवको विशेष पहलमा सशस्त्र प्रहरीको एक टोलीले उक्त महिलालाई उद्धार गरी अस्पतालमा भर्ना गराएको छ ।

हनुमाननगर योगिनीमाई नगरपालिका वडा नम्वर–८ निवासी झुनालाई को.बर्साइन स्थित सशस्त्र प्रहरी बेस क्याम्पबाट प्रहरी निरीक्षक लालबहादुर थापाको नेतृत्वमा खटिएको टोलीले स्टे«चरमा बोकेर उद्धार गरेको सिमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरीक्षक दमन थापाले जानकारी दिएका छन् ।

झुनालाई गोबरगाढाबाट हनुमाननगर ल्याई जेपी लोहिया ट्रष्टको एम्बुलेन्समा राखी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

सञ्चार उद्यमी शिवनारायण साह ‘सुरज’ले एम्बुलेन्स लिएर हनुमाननगर पुगेका थिए । गोबरगाढाका हरिनारायण यादवलगायत स्थानीय युवाहरुले महिलालाई ढक्कीमा राखेर दुई ओटा भङ्गालो तारेपछि ९ जनाको सशस्त्र प्रहरीको टोलीले स्ट्रेचरमा राखेर उद्धार गरेको जनाईएको छ ।

gobargadha-4

अस्पतालमा भर्ना भएकी झुनाको स्तनमा संक्रमण रहेको, ज्वरोसमेत लागेको अस्पतालकी चिकित्सक डा.दीपा यादवले जानकारी दिईन् । ‘झुनालाई हाल प्रसव पीडा भइरहे पनि खतरामुक्त छ, उनले भारतमा अपरेशन गराएको छ’ उनले भनिन् ‘बन्ध्याकरण अपरेशन अघिकै बच्चा रहेकोले जाँच रिपोर्ट आइसकेपछि मात्र थप कुरा भन्न सकिनेछ ।’

गोबरगाढाकी स्वयम्सेविका समेत रहेकी उनको उपचार अस्पतालले निःशुल्क गर्ने जनाईएको छ । यता सप्तरी युवा सम्मेलन आयोजक समितिका युवाहरुले उनलाई तत्कालै पाँच हजार रुपैयाँ सहयोग गरेका छन् ।

चारैतर्फ कोशी नदी बगिरहेका कारण अस्पतालसम्म पुगेर सुत्केरी गराउनु उनकालागि ठूलो चुनौती थियो । नजिकको हनुमाननगर बजार पुग्नकालागि पनि साना–ठूला गरी तीन ओटा भङ्गालो तर्नुपर्ने हुन्छ । भङ्गालो तर्न राखिएको डुङ्गा समेत एक साता अघि चोरी भईसकेकोले व्यथा लागेकी झुनालाई अस्पतालसम्म पुर्याउन समस्या भएको थियो ।

व्यथाबाट छटपटाईरहेकी २७ वर्षिय झुनालाई यस अघि सहज रुपमै बच्चा जन्मिएको थियो । तर यसपटक भने जोखिम रहेको स्थानीय महिला प्रमिला देवी यादवले बताईन् । उनका अनुसार झुनाले सन्तानको ईच्छा पुगिसकेको भन्दै गत पुसमा अपरेशन गराएकी थिइन् । अपरेशन अघिकै गर्भ रहेको कुरा उनले केही महिनापछि मात्र थाहा पाएकी थिइन् ।

जेठो छोरो प्रदिप ७ वर्ष, छोरी रुक्मिणी ५ वर्ष र कान्छो छोरा कृष्णा ३ वर्षको छ । घरमै भईहाल्छन् कि भन्ने आशमा उनी छट्पटाउँदैआएकी थिइन् । झुनाका पति दुःखी यादव कमाउनकालागि पञ्जाब गएका छन् । उनको घरमा जान्ने बुझ्ने कोही नभएका कारण थप समस्या भएको थियो ।

gobargadha-5
नजिकको हनुमाननगर बजारसम्म पुग्न करिब ११ किलोमीटर बालुवा तथा घाँसे मैदान एवम् झाडी भएर हिड्नपर्ने हुन्छ । गोबरगाढामा बस्ने महिलाहरुको पीडा कहालीलाग्दो छ । दिनमा यस्तो समस्या आईपरेमा पुरुषहरुको सहयोगमा ढकियामा बोकेर स्वास्थ्य संस्थासम्म पुर्याउने गरिएको तथा रातीको बेला यस्तो आपत विपत आईदियो भने गाउँमै छट्पटाएर ज्यान गुमाउनुपर्ने अवस्था यहाँका महिलाहरुको नियती नै रहेको स्थानीय सहयोगी हरिनारायणले बताए ।

अति विकट गाविस गोबरगाढालाई डेढ वर्ष अघि हनुमाननगर योगिनीमाई नगरपालिकामा गाभिए पनि अवस्थामा सुधार हुनुको साटो झन बिकराल बन्दै गएको छ । तत्कालिन गोबरगाढा गाविसको वडा नम्वर–४ की स्वयम्सेविका समेत रहेकी उनी आवद्ध रहेको स्वास्थ्य चौकीमा कार्यरत अहेव समेत तीन दिनदेखि चौकीमा गएको थिएन । गुहालीको एक कुनामा राखिएको दराजमै रहेको उप–स्वास्थ्य चौकी सिमित छ । गोबरगाढा बस्तीमा करिब ३ सय परिवारको १ हजार २ सय जनसंख्या रहेको छ । चारैतर्फ नदी बगेका कारण असारदेखि असोजसम्मको जनजिवन अति कष्टकर हुने गर्दछ । तस्बिर : न्यूजटुडे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.