Rajendra_mahato
हुलाकी न्यूज, काठमाडौं ७ भदौ । मधेश आन्दोलन–३ मा भएका घटना तथा क्षतिसम्बन्धि छानबिन गर्न नेपाल सरकारले घोषणा गरेको उच्चस्तरीय छानबिन आयोगमा मधेशी पक्षको पनि सहभागिता हुनुपर्ने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताएका छन् ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै अध्यक्ष महतोले भने, ‘सरकारले एकतर्फी रुपमा बनाएको छानबिन आयोग मधेशी मोर्चालाई मान्य हुने छैन ।
बहालवाला सुरक्षा अधिकारीहरुलाई यस समितिमा राखिनु हुँदैन । उनीहरु यस आयोगमा भए सत्यतथ्य तथा निष्पक्ष छानबिन हुनेछैन ।’

महतोका अनुसार उक्त आयोगमा आन्दोलनकारी पक्षको तर्फबाट सहभागी नगराए पनि मधेशी मानवअधिकारकर्मी, सञ्चारकर्मी वा कानून व्यवसायी क्षेत्रका व्यक्तिहरुको सहभागिता गराउनुपर्ने छ ।

पीडित पक्षलाई नियाल्दै आएका व्यक्तिहरु सहभागी भएको खण्डमा मात्र आयोगले सत्यतथ्यमा आधारित प्रतिवेदन सार्वजनिक गर्न सक्ने महतोको तर्क रहेको छ ।

यता, मधेशी अधिकारकर्मीहरुले पनि एकतर्फी रुपमा खडा गर्न लागिएको आयोगको औचित्य नरहने दाबी गर्दै आएका छन् ।

त्यस्तै, मधेशी मोर्चाका नेताहरुले आयोगका विषयमा सरकारले आफूहरुसँग कुनै परामर्श नगरेको हुलाकी न्यूजलाई बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.