
अमरेन्द्र कुमार यादव, महेन्द्रनगर ७ भदौ । धनुषामा जिल्लास्तरीय खुल्ला पुरुष कबड्डी प्रतियोगिता सम्पन्न भएको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ कवड्डी प्रतियोगिता सम्पन्न भएको हो ।
लालिगुराँस चारपाते क्लब रमदैया भवाडीको आयोजनामा सम्पन्न उक्त प्रतियोगिताबाट स्वस्थानी युवा क्लब प्रथम भएको छ ।
आयोजक टिम लालिगुराँस चारपाते (सेतो) लाई स्थस्थानीले ९ अंकले पराजित गर्दै प्रथम स्थान ल्याएका छन् ।
प्रतियोगितामा स्वस्थानीले निर्धारित समयमा २६ अंक ल्याएका थिए भने लालिगुराँगले १७ अंक ल्याई पराजय व्यहोर्नु परेको हो ।
प्रथम भएका स्थस्थानीलाई नगद ५ हजार १ रुपैयाँ र मेडल प्रदान गरिएको जिल्ला खेलकुद विकास समिति धनुषाका अध्यक्ष कमल किशोर चौधरीले बताएका छन् ।
दोस्रो स्थान ल्याएका लालिगुराँसलाई ३ हजार १ रुपैयाँ र मेडल साथै तेस्रो हुने गोविन्दपुर टिम (बी) र लालिगुराँस निलोलाई १ हजार ५ सय १ रुपैयाका दरले पुरस्कार प्रदान गरिएको चौधरीले बताए । उक्त प्रतियोगिमा जिल्लाका ९ वटा टिमले भाग लिएका थिए ।

दुई दिनसम्म चलेको उक्त प्रतियोगिताको समापन समारोहमा नगर विकास समितिका अध्यक्ष सुकदेव यादव, नेकपा एमालेका जिल्ला समिति सदस्य श्याम किशोर यादव, वरिष्ठ प्रशिक्षक रामनारायण राय, जिल्ला कबड्डी संघका अध्यक्ष सरोज कुमार सिंह, नेपाली कांगे्रसका गोविन्द गिरी आयोजक टिमका अध्यक्ष लालबाबु यादव लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।



